×

बन्दीपुर ।  तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधिन बन्दीपुर केबलकारका लागि एक अर्ब पाँच करोड बढी लगानी जुटेको छ । केबलकारसहितका परियोजनाका लागि नेपाल एसबिआई बैंक लिमिटेडको नेतृत्वमा एनएमबी बैंकसमेतको समूहले यससम्बन्धी लगानी सम्झौता गरेका छन् ।
बन्दीपुर केबलकार प्रालिले केबलकार तथा अन्य संरचनाका लागि एक अर्ब ६६ करोड लागत अनुमान गरेको छ । यसअन्र्तगत पहिलो चरणमा ७० करोड लगानीका लागि सहमति जुटेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । बाँकी रकम पनि दुवै बैंकले दोश्रो चरणमा लगानी गर्नेछन् ।

लगानीसँगै कम्पनीले केबलकारसहित रेष्टुरेन्ट र मनोरञ्जनका अन्य संरचना पनि तयार पार्ने लक्ष्य राखेको शर्माले जानकारी दिए । परियोजना अन्र्तगत केबलकारबाट सिधै चार तारे होटेलमा प्रवेशको अवसर दिइएको छ । कम्पनीका अनुसार जहाँबाट सुर्योदय, सीस महल, वाक्स म्युजियम, प्लानेटरियम, भुत बंगला तथा भ्युज रुमसँगै एक हजार सहभागी अट्ने क्षमताको सम्मेलन केन्द्र, स्विमिङ्ग पुल र ६६ कोठाको होटेल पनि निर्माण हुनेछ ।

कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जी जम्प, अग्लो मेकानिकल स्विंग, म्युजिकल वाटर शो समेत बनाउने तयारी गरेको छ ।ती बैंकले यसका अलावा होटल सहितको पूर्वाधारलाई सञ्चालनमा ल्याउने गरि थप ३५ करोड रुपैया कर्जा सुनिश्चिता गरेको प्रालिलिे जनाएको छ ।

परियोजनाका लागि लगानीकर्ताका तर्फबाट आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लि। र टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेडले ६१ दशमल ५ प्रतिशत, पन्चासे केबलकार एण्ड टुर्स लिमिटेडले २५ दशमलब ५ र बन्दीपुर गाउँपालिका लगायत स्थानीय लगानीकर्ताको १४ दशमलब ५ प्रतिशत लगानी हुनेछ ।

हाल बन्दीपुर गाउँपालिकामा केबलकारको संरचनाको काम भैरहेको छ । १० वर्षमा १० हजार रोजगारी दिने गरी काम गर्ने घोषणा शर्माले गरे ।ऋण सम्झौता कार्यक्रममा बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिङ्ग थापाले बन्दीपुरलाई गण्डकी प्रदेशको स्वागत गन्तब्य बनाउनको लागि परियोजनाले निर्णायक भूमिका खेल्ने बिश्वास व्यक्त गर्दै भने,‘परियोजनाका लागि आवश्यक सघाउन गाउँपालिका तयार छ ।’

तपाईको प्रतिक्रिया