
कविता
छ महिनाकी अबोध बालिका ,
जो आफ्नो कपडा र छालाबीच फरक छुट्याउन सक्दिनन् ,
दुबैलाई शरीर ढाक्ने चिज ठान्छिन्,
जसलाई छोप्नु पर्ने र नपर्ने चिजको समेत फरक थाहा छैन,
न छोप्दा खुसी,
न देखाउँदा लाज ,
त्यस्ती अबोध बालिकालाई ,
गिद्दे नजर ले हेर्ने ,
ए पुरूष ,तिम्रो कस्तो नजर ? कस्तो पुरुषार्थ?
पन्ध्र महिने अबोध बालिका ,
जो बल्लतल्ल निस्केका तल्लापट्टिका दूधे दाँत देखाउँदै ,
तिमीतिरै फर्केर ,
करोडौको हाँसो हाँसिरहेकी हुन्छिन् ,
जसलाई तिमीले ,
टपक्क टिपेर काखमा राख्दा,
माया र स्नेहको छाता ओढेको अनुभूति गर्ने,
ती बालिकाको स्पर्शले,
मनमा यौन अनुभूति पलाउने
ए पुरूष , तिम्रो कस्तो मन ? कस्तो पुरुषार्थ ?
छ वर्षकी अबोध बालिका ,
जसलाई ,
ललाई फकाई गरेर एउटा मिठाइ दिँदै ,
खेलौना किनिदिने आश्वासन देखाएर ,
पर जंगलसम्म लैजाँदा समेत ,
रमाई ,हात समाई ,नाच्दै,उफ्रिँदै,नयाँ खेलौनाको सपना बुन्दै ,
तिमीसँगै जान्छिन्,
जसलाई मुख थुनेर, तिम्रो यौवनको एक झड्काले,
चिच्याहटको आमा शब्द समेत निस्किन नपाउँदै
हत्या गरिदिन्छौ,
उसको छटपटाहटमा समेत करुणाले बेचैन नहुने,
ए पुरूष, तिम्रो कस्तो यौवन ? कस्तो पुरुषार्थ ?
सत्र वर्षकी एक किशोरी,
जो साँझ घर फर्किन ढिला भएर,
मनभरि डर लिई जंगलको बाटो हिँड्दै गर्दा,
चौतारी बसिरहेका तिमीलाई भरोसा गरी,
बाटो कटाइदिन अनुरोध गर्छिन्,
उनलाई अघि लगाई पछि हिँड्दै गर्दा,
बाघ ले शिकार झम्टिएझैं गरी ,
बलात्कार गर्ने।
ए पुरूष ,तिम्रो कस्तो मन ? कस्तो पुरुषार्थ ?
साठ्ठी वर्षकी एक्ली, रोगी वृद्ध आमा ,
ढोका नभएको झुपडीमा,
आफ्नो मृत्यु पर्खेर बसिरहेकी हुन्छिन्,
जसको हात पाखुरा सँगै ,
शरीरको बल समेत खिइसकेको छ,
रातको तिम्रो आगमनमा मातृस्नेहले उनलाई पगाल्छ ,
र आश्रय दिन्छिन्,
ती ममता भरिएकी वृद्ध आमालाई समेत,
गिद्धले सिनो लुछेझैं लुछ्ने ,
ए पुरूष, तिम्रो कस्तो दिमाग ? कस्तो पुरुषार्थ ?
यस जगतमा छोरी मान्छेको दर्जा पाएकाहरू ,
जसमा भर्खर जन्मेकादेखि, मृत्यु पर्खिरहेका सम्म छन्,
उनीहरूको सग्लो शरीरमा,
केवल एउटा यौनांग मात्र देख्ने,
जिन्दगी जिउन जन्मिएकालाई मृत्युको पोखरीमा डुबाइदिने,
पीडा र चिच्याहटलाई आनन्द मान्ने,
तिमी,
मान्छेको शरीर भएको दानव हौ,
तिमी पुरूष नै हैनौ, तिम्रो पुरुषार्थ को त के कुरा!