नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको जन्म वि.सं १९७१ भाद्र २४ (८ सेप्टेम्बर १९१४) भारतको वाराणासी भएको थियो। उनको बाबुको नाम कृष्णप्रसाद कोइराला हो। उनले नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व मात्र प्रदान गरेनन कि विक्रम संवत २०१५ देखि २०१७ सम्म नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री पनि भए ।
प्रसिद्ध राजनीतिज्ञ र प्रजातान्त्रिक समाजवादका चिन्तक विश्वेश्वर प्रसाद कोइराला नेपाली तथा हिन्दी भाषाका साहित्यकार पनि थिए। नेपाली साहित्यमा मनोवैज्ञानिक तथा यौन मनोविश्लेषणको प्रयोग गरी नयाँ दिशा प्रदान गरे । तीन घुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी र बाबु, आमा र छोरा (उपन्यास), दोषी चश्मा र श्वेतभैरवी (कथा), आफ्नो कथा र जेल जर्नल (जीवनी ) जस्ता कृतिहरु लेखी नेपाली समाजलाई अतुलनीय योगदान दिएका छन्।
उनले विक्रम संवत २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुन पछि गएर नेपाली काँग्रेसमा परिणत भयो। जीवनभर कांग्रेसको नेतृत्व गरी प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्दा उनले पटक पटक गरी आफ्नो जीवनको लामो समय जेलमा व्यतीत गरेका थिए।
विश्वेश्वर प्रसादको राजनीतिक जीवनको सुरुवात उनको अध्ययनकालमै भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भएको थियो । आन्दोलनमा लागेकै कारण उनका दाइ मातृकाप्रसाद कोइराला समेत उनलाई इ.सं. १९३० मा तीन महिनासम्म बेलायती सरकारले जेलमा कैद समेत गरेको थियो। उनले आफ्नो उच्च माध्यमिक शिक्षा इ.सं. १९३२ मा बनारसबाट पूरा गरे । त्यसपछि वाणारासी हिन्दू विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरी दार्जीलिङमा बसेर धेरै समयसम्म कानुन पेशामा काम गरे। दोस्रो विश्वयुद्धको समयमा इ.सं. १९४२ देखि १९४४ सम्म उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना पनि गरेको थियो।
बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा बिक्रम सम्बत २००४ मा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्यो । विक्रम संवत २००६ सालमा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे र २००७ सालमा राणा शासनको अन्त्य भई बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यस पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने।
नेपालको पहिलो आम निर्वाचन विक्रम संवत २०१५ सालमा भएको उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे। प्रधानमन्त्री कालमा उनले संयुक्त राष्ट्रसंघ, भारत तथा चीनको मैतृपूर्ण भ्रमण गरे । जननिर्वाचित उनको सरकारले १८ महिना मात्र शासन गर्यो । वि.सं. २०१७ साल पुस १ (१५ डिसेम्बर १९६०) गते राजा महेन्द्रद्वारा आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान र सरकार भंग गरी कुनै मुद्दा बिनानै उनलाई ८ वर्षसम्म कैदमा राखियो । उनलाई विक्रम संवत २०२५ सालमा बनारस निर्वासन गरियो। विक्रम संवत २०३३ सालमा उनी फेरि नेपाल फर्के तर तत्कालिन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा जेल चलान गर्यो । अन्तर्राष्ट्रिय दबाबका कारण २०३५ सालमा उनका विरूद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लियो । १९७९ को (२०३६ सालको आन्दोलन) बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो । उनको मृत्यु वि.सं २०३९ श्रावन ६ बुधवारका दिन काठमाडौंमा भयो ।
लेखक रोमलाल खनाल नेपाली कांग्रेस कपिलवस्तु क्षेत्रीय २का क्षेत्रीय सचिव हुनु हुन्छ।