×

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमाले तीनवटा वडाबाट अलग अलग सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको पाइएको छ । ७२ बर्षकी बेदमाया खनालले वडा नम्बर १, ३ र ७ बाट अलग अलग ज्येष्ठ नागरिक र एकल महिला भत्ता लिँदै आएको खुलेको हो । वडा नम्बर ३ बाट एकल महिला भत्ता र अरु दुई वडाबाट ज्येष्ठ नागरिक भत्ता लिएको पाइएको छ ।
तीनवटै वडाबाट सामाजिक सुरक्षा भत्ता बुझेको सूचीमा उल्लेखित खनालको नाम र नागरिकता नम्बर मिलेको छ । उनले मनहरीमा रहेको मुक्तिनाथ विकास बैंकको एउटा बैंक खाताबाट २४ हजार रुपैयाँ र अर्को खातामा ८ हजार रुपैयाँ बुझेको पाइएको छ ।

गत आर्थिक बर्ष २०७६र७७ को अन्तिम चौमासिक र चालु बर्ष २०७७र७८ को प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता तीनवटै वडाबाट एउटै व्यक्तिको खातामा भुक्तानी भएपछि बैंकले गाउँपालिकालाई खबर गरेपछि घटना बाहिरिएको हो ।वडाध्यक्षको आमाले तेहोरो सामाजिक सुरक्षा भत्ता बुझेको पाइएपछि स्थानीयले गाउँपालिका कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।


‘मनहरीका सचेत युवाहरु’ को नामबाट दिइएको उजुरीमा वडाध्यक्ष खनालले पदको दुरुपयोग गरी आमालाई तेहोरो भत्ता दिलाएको भनी कारबाही गर्न माग गरिएको छ । वडाअध्यक्ष खनालले आफूलाई फसाउनका लागि यस्तो गरिएको दावी गर्नुुभयो ‘मेरो कम्जोरी नपाएपछि आमाको नाउमा फसाउन खोजिएको हो’ उहाँले भन्नुुभयो, ‘मैले मेरो वडाको सिफारिस गर्ने हो अन्य वडाको सिफारिस गर्ने काम कसरी हुन्छ ।’
अनलाईन खबरबाट

 

तपाईको प्रतिक्रिया