
चितवनका सामुदायिक विद्यालयमा पढाउँदै आएका निजी स्रोतका शिक्षक तथा कर्मचारीले आफुहरुले तलब नपाए सङघर्षमा उत्रने चेतावनी दिएका छन् । निजी स्रोतका शिक्षकहरूले पाच बुदे माग पुरा नभए आफुहरु जस्तो सुकै सङघर्षमा उत्रने निजी स्रोतका शिक्षकहरूले चेतावनी दिएका हुन् ।
सरकारले कुनै पनि शिक्षक कर्मचारीको सेवा सुविधा नरोक्न भने पनि विद्यालयहरूले आयस्रोत छैन भन्दै तलब सुविधा कटौती गरेको निजी स्रोतका शिक्षकहरूले बताएका छन्।
हालको विषम् परिस्थितिमा विद्यालयहरूले बेतलबी बिदा बस्न लगाउने, खाइपाई आएको तलब कटौती गर्ने, निष्कासन गर्नेलगायतका काम गर्दै आएकोले यसबारे सरकारले सामुदायिक विधालयसंग स्पष्टीकरण माग्नुपर्ने सामुदायिक निजी स्रोत शिक्षक सङघर्ष समितिका अध्यक्ष सदन बराल र सचिव विनिता श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत माग गरीएको छ ।
एउटै क्षेत्रमा काम गर्ने कर्मचारी भएर पनि समान व्यवहार नभएको भन्दै निजि स्रोतका शिक्षकहरुलाई सम्मान पुर्ण व्यवहार गरी प्रत्येक महिनाको तलब भुत्तानी समयमै दिनुपर्ने सरकारसँग माग गरेका छन्।
बन्दाबन्दीको कारण विद्यालय क्षेत्र प्रभावित भएको सबैले बुझ्दाबुझ्दै पनि भोको पेट कसैले काम गर्न नसक्ने हुँदा समयमै तलब सुविधा दिन अध्यक्ष बरालले आग्रह गर्नु भएको छ ।