×

कावासोती- राजनीति र सामाजिक क्षेत्रलाई पेसा होइन, विशुद्ध सेवा र समाज रूपान्तरणको माध्यम बनाउनुपर्छ भन्ने एउटा उत्कृष्ट उदाहरणका रूपमा कावासोतीका स्थापित सामाजिक व्यक्तित्व हेमप्रसाद पाण्डे (हेमु) अग्रपंक्तिमा देखिनुभएको छ।  पाण्डे आफ्नो निष्कलंक छवि, त्याग र जनपक्षीय कार्यशैलीका कारण नवलपुर क्षेत्रमै एक लोकप्रिय र भरोसायोग्य नेताका रूपमा स्थापित हुनुहुन्छ।

पाण्डेको सामाजिक तथा राजनीतिक यात्रामा २०७४ सालको स्थानीय तह निर्वाचन एउटा महत्त्वपूर्ण कोशेढुङ्गा साबित भएको थियो। सन् १९६० (२०१७ साल) देखि नै नेकपा एमालेको बलियो राजनीतिक किल्ला मानिँदै आएको कावासोती नगरपालिका वडा नं. ६ मा पाण्डेले ऐतिहासिक जित दर्ता गर्नुभएको थियो। दलीय रूपमा निकै चुनौतीपूर्ण मानिएको उक्त निर्वाचनमा उहाँले तत्कालीन समयमा एमालेको वर्चस्व रहेको क्षेत्रमा मात्र २७ मतको मतान्तरले विजयी हुँदै वडाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो।

आफ्नो ५ वर्षे कार्यकालमा वडाध्यक्षका रूपमा पाण्डेले राजनीतिमा एउटा दुर्लभ उदाहरण पेस गर्नुभयो। राज्यबाट जनप्रतिनिधिका रूपमा पाउने तलब, भत्ता र अन्य सरकारी सेवा-सुविधा उहाँले कहिल्यै आफ्नो व्यक्तिगत प्रयोजनमा लगाउनुभएन। उहाँले ती सम्पूर्ण सुविधाहरू वडाकै विकास, गरिब, दुःखी र असहाय नागरिकको सेवामा खर्च गरेर राजनीतिमा त्यागको नयाँ भाष्य निर्माण गर्नुभयो।

दूरदर्शी सोचका धनी पाण्डेकै नेतृत्वमा २०७५ सालमा कावासोतीमा प्राविधिक कलेजको परिकल्पना गरिएको थियो, जसका लागि धनधान्याचल महायज्ञ सञ्चालन गरी करिब २ करोड रुपैयाँ आर्थिक संकलन गर्न उहाँ सफल हुनुभएको थियो। आफूले अक्षर आरम्भ गरेको जनता माध्यमिक विद्यालय प्रति कृतज्ञ रहँदै उहाँले कोभिडको समयमा आफ्नै व्यक्तिगत लगानीमा विद्यालयमा सीसी क्यामेरा जडान गरिदिनुभएको थियो भने आर्थिक रूपमा विपन्न सयौँ विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्दै आउनुभएको छ।

विशेषगरी कोभिड–१९ महामारीको विकराल समयमा पाण्डेले देखाएको सक्रियता कावासोतीबासीको मानसपटलमा अझै ताजा छ। महामारीका बेला समस्यामा परेकाहरूलाई घर-घरमै खाद्यान्न पुर्‍याउने मात्र होइन, नेपाल-भारत सीमानाकामा अलपत्र परेका नेपालीहरूलाई उद्धार गर्न उहाँ आफ्नै व्यक्तिगत गाडी लिएर सिमानासम्म पुग्नुभएको थियो। उनीहरूलाई सुरक्षित रूपमा कावासोती ल्याएर बस्ने र खाने व्यवस्थापन मिलाउन उहाँ अहोरात्र खटिनुभएको थियो।

सामाजिक सेवा गर्दा कहिल्यै राजनीतिक दल वा आस्थाको चस्मा नलगाउने पाण्डे समाजमा दबिएका, पछि पारिएका र अन्यायमा परेकाहरूको सारथी बन्दै आउनुभएको छ। सामाजिक संघसंस्थाहरूमा राजनीतिक भागबन्डा हुनुहुँदैन, बरु सर्वसम्मत नेतृत्व चयन गरेर संस्थाको हितमा काम गर्नुपर्छ भन्ने उहाँको दृढ अडान छ।

विगतको जनमुखी इतिहास बोक्नुभएका पाण्डे अहिले ७ हजार ९ सय ९१ उपभोक्ता (मतदाता) र ६ वटा वडा कार्यक्षेत्र रहेको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नेतृत्व सम्हाल्ने संकल्पसहित चुनावी मैदानमा हुनुहुन्छ। पाङ्ग्रेघाट नजिकै केरुङ्गे खोलाबाट ओभरहेड टंकीमा पानी ल्याएर वितरण भइरहेको यस संस्थाको व्यवस्थापनलाई अझै सुदृढ बनाउँदै आम उपभोक्तालाई राहत दिने उहाँको स्पष्ट योजना छ।

नेतृत्वमा पुगेपछि सामुदायिक विद्यालयहरूमा खानेपानी पूर्ण रूपमा निःशुल्क गर्ने पहिलो निर्णय हुने घोषणा पाण्डेले गर्नुभएको छ। यसका साथै आम उपभोक्तालाई राहत दिन मासिक ५ हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने, महिलाको नाममा नयाँ खानेपानीको धारा जडान गर्दा २५०० रुपैयाँ छुट दिने र खानेपानीको धारा नामसारी गर्दा लाग्ने शुल्क पूर्ण रूपमा निःशुल्क बनाउने जस्ता उपभोक्तामुखी योजनाहरू उहाँले अघि सार्नुभएको छ।

त्यस्तै, कावासोती नगरपालिकाको मुख्य प्रवेशद्वारमा अपाङ्गमैत्री आधुनिक शौचालय र शुद्ध खानेपानीको व्यवस्थापन गर्ने, नगरमा आइपर्ने आगलागी जस्ता विपद् व्यवस्थापनका लागि दमकलमा तुरुन्त पानी भर्न मिल्ने गरी ‘फायर हाइड्रेट’ प्रणाली जडान गर्ने तथा पानीको मुख्य मुहानको दीर्घकालीन संरक्षण गर्दै वैकल्पिक स्रोतहरूको पहिचान र विकास गर्ने जस्ता दूरगामी विकासका एजेन्डाहरू उहाँका प्राथमिकतामा परेका छन्। आफ्नो निष्कलंक छवि, ऐतिहासिक योगदान र जनताको सुख-दुःखमा चौबिसै घण्टा उपलब्ध हुने स्वभावका कारण कावासोती खानेपानीको आगामी निर्वाचनमा पनि हेमप्रसाद पाण्डे सबैभन्दा बलियो र लोकप्रिय उम्मेदवारका रूपमा हेरिनुभएको छ।

तपाईको प्रतिक्रिया