×

नवलपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुर जिल्ला समितिको सभापतिमा दोमन बहादुर भण्डारी निर्वाचित भएका छन्। जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा कुल ४३३ मत खसेको थियो।

निर्वाचन परिणामअनुसार भण्डारीले १४२ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी गोकुल सापकोटाले १३९ मत प्राप्त गरे भने कृष्ण शर्माले १३६ मत ल्याए। तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको निर्वाचनमा भण्डारी ३ मतान्तरले विजयी बनेका हुन्।

यस्तै, उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न्यौपाने तथा सहसचिवमा सन्तबहादुर ठाडा मगर निर्वाचित भएका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित पदाधिकारीहरूलाई पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। नयाँ नेतृत्वले जिल्ला संगठनलाई थप सुदृढ बनाउँदै पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

प्रतिनिधि छनोटलगायत विषयमा देखिएको विवादका बीच सम्पन्न अधिवेशनले अन्ततः नयाँ जिल्ला नेतृत्व चयन गरेको छ।

तपाईको प्रतिक्रिया