×

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् । पोखरामा सम्पन्न प्रदेश अधिवेशन अन्तर्गत भएको निर्वाचनमा अन्य तीन प्रतिस्पर्धीलाई पराजित गर्दै त्रिपाठी सभापतिमा चुनिएका हुन् । यसअघि त्रिपाठी सोही प्रदेश कमिटीको महामन्त्रीको जिम्मेवारीमा थिए ।

त्रिपाठीले २३४ मत प्राप्त गरी विजयी हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी राजन गौतमले १८२ मत मात्रै प्राप्त गरे । पराजित गौतम निवर्तमान प्रदेश सभापति हुनुका साथै नवलपुर क्षेत्र नं. १ का बहालवाला संघीय सांसद समेत हुन् ।

पार्टीभित्र राजकीय पद (सांसद) र बहालवाला प्रदेश प्रमुखको शक्तिशाली ओहोदामा रहेका गौतमको यो पराजयलाई रास्वपाको आन्तरिक राजनीतिमा ‘लज्जास्पद’ हारका रूपमा हेरिएको छ । निर्वाचनमा प्रभावशाली मानिएका गौतम त्रिपाठीसँग ५२ मतको फराकिलो अन्तरले पछारिएका हुन् ।

त्यस्तै, सभापतिका अन्य दुई उम्मेदवार माधव कँडेल र हरिबहादुर कार्कीको उपस्थिति भने निकै कमजोर देखियो । कँडेलले जम्मा ११ मत प्राप्त गरे भने कार्कीले मात्र २ मतमा चित्त बुझाउनु पर्यो ।

गण्डकी प्रदेशमा बहालवाला सांसद र संस्थापन पक्षको बलियो दाबेदारीलाई पन्छाउँदै पूर्व महामन्त्री त्रिपाठीले पार्टीको कमान्ड सम्हाल्ने अवसर पाएका छन् । यस परिणामले रास्वपाका भुइँतहका कार्यकर्ताहरूले स्थापित अनुहार भन्दा संगठनमा खटिने नेतालाई रुचाएको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया