लमजुङ- सामाजिक उत्तरदायित्व वहन गर्दै केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएसन नेपाल (केमसान) चितवनको आयोजनामा लमजुङका दुई वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। लमजुङको मध्यनेपाल नगरपालिकामा रहेका ज्वाला आधारभूत विद्यालय र कल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयमै पुगेर उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो।
संस्थाले विद्यार्थीहरूको चौतर्फी विकास र विद्यालयको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै विद्यार्थीहरूलाई कापी तथा लेखन सामग्री, खेलकुदका लागि फुटबल, भलिबल, स्पोर्ट्स ट्र्याकसूट र विद्यालयमा शुद्ध खानेपानीका लागि वाटर डिस्पेन्सर समेत प्रदान गरेको छ।
केमसान चितवनका अध्यक्ष अर्जुन रानाभाटको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका केन्द्रीय द्वितीय उपाध्यक्ष समीर मरहठ्ठा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमका बारेमा जानकारी दिँदै संस्थाका जिल्ला सदस्य बसन्त पौडेलले व्यवसाय सञ्चालनसँगै समाजप्रतिको उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिँदै आएको बताउनुभयो। ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययन र खेलकुदमा थप हौसला मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको पौडेलले जानकारी दिनुभयो।
चितवनबाट लमजुङका ग्रामीण क्षेत्रका विद्यालयहरूमा पुगेर गरिएको यो उदाहरणीय र मानवीय कार्यको स्थानीय स्तरमा निकै प्रशंसा भइरहेको छ। सामग्री पाएपछि दुवै विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले खुसी व्यक्त गर्दै संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए।




उज्यालो खबर




