×

गैंडाकोट – जिल्ला उद्योग वाणिज्य संघ, गैंडाकोटको सातौँ साधारणसभा तथा चौथो अधिवेशन आज (बिहीबार) भव्य रूपमा आयोजना हुँदैछ। गैंडाकोटस्थित मौलाकाली इला रिसोर्टमा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ।

अधिवेशनको औपचारिक उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले गर्नेछन्। उद्योगी-व्यवसायीहरूको छाता संगठनको नेतृत्व चयन हुने दिन भएकाले आज स्थानीय व्यवसायीहरूमाझ विशेष उत्साह र रौनक देखिएको छ।

विधानको वैधानिक व्यवस्था अनुसार हालका वरिष्ठ उपाध्यक्ष छविलाल कँडेल स्वतः अध्यक्षमा निर्वाचित हुनेछन्। वर्तमान अध्यक्ष दीपक सापकोटाको सफल कार्यकाल पूरा भएसँगै कँडेलले संघको नयाँ बागडोर सम्हाल्न लागेका हुन्।

संघका महासचिव तेजनारायण पाण्डेका अनुसार यो अधिवेशन उद्योगी-व्यवसायीको हकहित र समग्र गैंडाकोटको आर्थिक विकासका लागि कोशेढुङ्गा सावित हुनेछ।अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि २९ सदस्यीय नयाँ कार्यसमिति गठन गर्नेछ।

अध्यक्ष बाहेक वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा योग्य नेतृत्व चयन गरिनेछ। समावेशी सहभागिताका लागि सह-कोषाध्यक्ष पदमा महिला अनिवार्य गरिएको छ भने ३ जना सदस्य पछि मनोनित गरिनेछ।

स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन अधिवेशनले नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै संघले सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया