×

गैँडाकोट – गैँडाकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियानलाई तीव्रता दिन ठूलो संख्यामा जनशक्ति माग गरिएको छ। नगरपालिकाले ‘बालमैत्री स्थानीय शासन कार्यक्रम’ कार्यान्वयनका लागि १८ जना ‘वडा बालमैत्री सहजकर्ता’ पदमा सेवा करारमा कर्मचारी भर्ना गर्न नयाँ आवेदन आह्वान गरेको हो।

नगरपालिकाका प्रत्येक वडामा एक-एक जना रहने गरी सहजकर्ता छनौट गर्न लागिएको हो। मान्यता प्राप्त शिक्षण संस्थाबाट १०+२ (प्लस टु) वा सो सरह उत्तीर्ण गरेका नेपाली नागरिकले यस पदका लागि आवेदन दिन सक्नेछन्। आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४० वर्षसम्मकाले आवेदन दिन पाउने प्रावधान राखिएको छ।

इच्छुक उम्मेदवारहरूले २०८३ साउन १९ गते कार्यालय समयभित्र गैँडाकोट नगर कार्यपालिकाको कार्यालय, प्रशासन शाखामा पुगेर फारम बुझाउनुपर्नेछ। फारमका साथमा नागरिकताको प्रतिलिपि, तीन प्रति पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि र कार्य अनुभव भए सोको प्रमाणपत्र संलग्न गर्नुपर्नेछ। साथै, आवेदन दस्तुरबापत नगरपालिकाको राजस्व शाखामा ३०० रुपैयाँ बुझाएको रसिद अनिवार्य रूपमा पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

फारम भर्दा आवेदकले आफूले कुन वडाका लागि दरखास्त दिन लागेको हो, सो कुरा प्रस्टसँग खुलाउनुपर्नेछ। रीतपूर्वक नआएका फारमहरूमाथि कुनै कारबाही नहुने बताइएको छ। उम्मेदवारको छनौट लिखित परीक्षा र अन्तर्वार्तामार्फत गरिनेछ। आवेदन फारम तथा परीक्षा सम्बन्धी थप विवरण नगरपालिकाको आधिकारिक वेबसाइट (www.gaindakotmun.gov.np) बाट प्राप्त गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया