नवलपुर – नवलपुर जिल्लामा सडक दुर्घटनाको अवस्था दिनानुदिन भयावह बन्दै गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सार्वजनिक गरेको पछिल्लो वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर भएका ११८ वटा सडक दुर्घटनामा परी ६९ जनाले ज्यान गुमाएका छन्। यस हिसाबले जिल्लामा औसतमा प्रत्येक महिना करिब ६ जनाको सडक दुर्घटनाकै कारण मृत्यु हुने गरेको छ, जुन विगत तीन वर्षयताकै सबैभन्दा बढी मानवीय क्षति हो।
समीक्षा अवधिमा दुर्घटनाको सङ्ख्यामा सामान्य वृद्धि भए पनि ज्यान गुमाउनेको सङ्ख्या भने अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा १३५ दुर्घटनामा ४६ जना र २०८१/८२ मा १म्ब० दुर्घटनामा ४४ जनाको मृत्यु भएकोमा २०८२/८३ मा भने मृत्युदर ५६.८२ प्रतिशतले बढेर ६९ पुगेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक कुशलकुमार वर्तौलाका अनुसार अधिकांश दुर्घटना चालकको असावधानी र ट्राफिक नियम उल्लङ्घनका कारण भएका छन्। कुल ११८ दुर्घटनामध्ये ११० वटा दुर्घटना चालकको लापरबाहीकै कारण भएको ट्राफिक प्रहरीको निष्कर्ष छ। विशेष गरी भर्खरै निर्माण सम्पन्न भएको नारायणघाट–बुटवल सडकखण्डमा तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने र जोखिमपूर्ण ओभरटेक गर्ने प्रवृत्तिका कारण मानवीय क्षति बढेको हो। यसबाहेक यान्त्रिक गडबडी, कमजोर सडक पूर्वाधार, जनचेतनाको कमी र पैदलयात्रीको असुरक्षित व्यवहारले पनि दुर्घटना निम्त्याइरहेको छ।
सवारीसाधनका आधारमा हेर्दा दुईपाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) सबैभन्दा बढी ९१ वटा दुर्घटनामा संलग्न रहेका छन्। त्यसपछि बस, कार, जिप, ट्रक र ट्र्याक्टर दुर्घटनामा परेका छन्।
सडक खण्डका आधारमा कुल मृत्यु हुनेमध्ये ६७ प्रतिशत (४६ जना) को ज्यान पूर्व–पश्चिम राजमार्गमा गएको छ भने ३३ प्रतिशत (२३ जना) को मृत्यु जिल्लाका भित्री सडकमा भएको छ। पालिकागत आधारमा गैँडाकोट नगरपालिकामा सबैभन्दा बढी २१ जनाको मृत्यु भएको छ। त्यसैगरी देवचुलीमा १६, कावासोतीमा १४, मध्यविन्दुमा १२, हुप्सेकोटमा ३, विनयी–त्रिवेणीमा २ र बुलिङटारमा १ जनाले ज्यान गुमाएका छन् भने बौदीकाली गाउँपालिकामा गत वर्ष कुनै पनि मानवीय क्षति भएको छैन।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले वर्षभरि २ हजार ३ सयभन्दा बढी स्थानमा सवारी चेकिङ, ३ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम र मापसे गर्ने १ हजार ६ सयभन्दा बढी चालकलाई कारबाही गरे पनि मानवीय क्षति रोक्न सकिएको छैन। दुर्घटनाका वास्तविक कारणबारे गहन अध्ययन गरी सडक पूर्वाधार सुधार र कडा नियम पालना गराउनेतर्फ तत्काल ठोस कदम नचाले आगामी दिनमा क्षति अझ बढ्न सक्ने चेतावनी सरोकारवालाहरूले दिएका छन्।



उज्यालो खबर

