भरतपुर – चितवनको भरतपुरस्थित प्रसिद्ध नारायणी नमुना माध्यमिक विद्यालयका गणित शिक्षक राज कुमार कंडेल नेपालकै सर्वोत्कृष्ट गणित शिक्षक बन्न सफल भएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (NAST) का वैज्ञानिक स्व. विश्वनाथ प्रसाद अग्रवालको स्मृतिमा ‘भिपी अग्रवाल साइन्स फाउन्डेसन’ ले स्थापना गरेको प्रतिष्ठित “भिपी अग्रवाल राष्ट्रिय पुरस्कार” पहिलो पटक शिक्षक कंडेलले प्राप्त गरेका हुन्।
वि.सं. २०८२ सालदेखि सुरु गरिएको यस पुरस्कारको राशि रु. २,२२,२२२ (दुई लाख बाइस हजार दुई सय बाइस) रहेको छ। देशभरका विभिन्न विद्यालयबाट सहभागी भएका २०० जना उत्कृष्ट गणित शिक्षकहरूबीचको कडा प्रतिस्पर्धा र चुनौतीपूर्ण चरणहरू पार गर्दै कंडेल प्रथम हुन सफल भएका हुन्।
यस पुरस्कारका लागि फाउन्डेसनले अत्यन्तै कठिन र निष्पक्ष मापदण्ड तय गरेको थियो। पुरस्कार प्राप्त गर्नका लागि शिक्षकले विगत ५ वर्षदेखि निरन्तर कक्षा १० मा अध्यापन गराएको हुनुपर्ने र तराई क्षेत्रको हकमा प्रति-कक्षा कम्तीमा ५० जना विद्यार्थी हुनुपर्ने नियम थियो।
यति मात्र नभएर, विगत ३ वर्षदेखि आफ्नो विषयमा न्यूनतम ८० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको ट्र्याक रेकर्ड समेत आवश्यक पर्दथ्यो। यी प्रारम्भिक मापदण्ड पूरा गरेर छानिएका शिक्षकहरूले आयोजक तथा देशका प्रतिष्ठित विषयविज्ञ (Subject Experts) हरूको प्रत्यक्ष अगाडि ‘लाइभ क्लास’ (Class Demonstration) दिएर आफ्नो शिक्षण शैली र कौशल प्रमाणित गर्नु परेको थियो। उक्त व्यावहारिक परीक्षामा कंडेलको प्रस्तुति र शिक्षण कला सर्वोत्कृष्ट ठहरिएको हो।
भरतपुर-१, रामनगर निवासी शिक्षक राज कुमार कंडेल विगत लामो समयदेखि शिक्षण पेसामा आबद्ध छन्। उनी वि.सं. २०७५ साल पौष २२ गतेदेखि नारायणी नमुना मा.वि.मा निरन्तर रूपमा अध्यापन गराउँदै आएका छन्। उहाँको सरल प्रस्तुति, प्रविधिमैत्री शिक्षण र विद्यार्थी केन्द्रित शैलीका कारण विद्यालयमा गणित विषयको नतिजा सधैँ उच्च रहने गरेको सहकर्मीहरू बताउँछन्।
वैज्ञानिकको स्मृतिमा स्थापित र देशभरिका शिक्षकहरू जोडिएको यो ऐतिहासिक पुरस्कार पहिलो पटक नै आफ्ना शिक्षकले प्राप्त गरेपछि नारायणी नमुना माध्यमिक विद्यालय परिवार निकै हर्षित बनेको छ।
विद्यालय प्रशासनले कंडेलको यो उपलब्धिले विद्यालयको गरिमालाई नयाँ उचाइमा पुर्याएको भन्दै उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। यो सफलताले मोफसलमा रहेर पनि उत्कृष्ट प्राज्ञिक कार्य गर्न सकिन्छ भन्ने कुरालाई पुनः प्रमाणित गरेको शैक्षिक क्षेत्रका जानकारहरू बताउँछन्।




उज्यालो खबर

