कावासोती- देशकै ठूला खानेपानी संस्थाहरूको सूचीमा अग्रपंक्तिमा आउने कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी तीन वर्षे कार्यकालका लागि चुनावी सरगर्मी निकै चुलिएको छ। संस्थाको १० औँ अधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आगामी आषाढ ०६ गते मतदान हुँदैछ। आषाढ ०१ गते उम्मेदवारी मनोनयन फिर्ता लिने समयसीमा समाप्त भएसँगै चुनावी मैदानमा उत्रिने उम्मेदवारहरूको अन्तिम टुङ्गो लागिसकेको छ भने यतिबेला कावासोतीमा चुनावी माहोल निकै तातेको छ। निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गणेश सापकोटाका अनुसार यस पटक संस्थाको विभिन्न पदहरूमा नेतृत्वका लागि उत्साहजनक र निकै तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्न प्राविधिक, व्यवस्थापकीय तथा सुरक्षा तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ।
कावासोतीका वडा नम्बर २, ३, ५, ६, ८ र ९ मा पानी वितरण गर्दै आएको यस संस्थाले हालसम्म ९ हजार ८ सय ४४ वटा धारा जडान गरी करिब ६० हजार उपभोक्तालाई स्वच्छ खानेपानी पुर्याइरहेको छ। प्राविधिक रूपमा अत्यन्त सबल यस संस्थासँग ३ हजार २ सय घनमिटर क्षमताका पानी ट्याङ्कीहरू रहेका छन् भने यसको वित्तीय अवस्था पनि देशकै उदाहरणीय र सुदृढ छ। हाल बैंकमा करिब १२ करोड रुपैयाँ मौज्दात रहेको यस संस्थाले उपभोक्ताहरूलाई सबैभन्दा सस्तो र सुलभ दरमा सेवा दिँदै न्यूनतम १० हजार लिटरसम्मको पानी मात्र ५० रुपैयाँमा वितरण गरेर लोकप्रियता कमाएको छ। यस पटकको निर्वाचनमा कुल ७ हजार ९ सय ९१ जना मतदाता रहेका छन्, जसमा चैत्र मसान्तसम्मको खानेपानी महसुल र शुल्क बैशाख मसान्तसम्म चुक्ता गरेका उपभोक्ताहरूले मात्र मतदान गर्न पाउने वैधानिक व्यवस्था छ।
संस्थाको गरिमामय नेतृत्व अर्थात् अध्यक्ष पदका लागि ६ जना सशक्त उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्, जसमा दिपकराज लम्साल, लोक प्रसाद काफ्ले, हेम प्रसाद पाण्डे, यात्माराम सुवेदी, अमृत कुमार श्रेष्ठ र फणिन्द्र ब थापा मगर रहनुभएको छ।
यस पटकको निर्वाचनको सबैभन्दा रोचक र उल्लेखनीय पक्ष उपाध्यक्ष पदमा शतप्रतिशत महिला सहभागिता रहनु हो। उपाध्यक्षका लागि नर्मदा रानाभाट, विन्दु पराजुली ढकाल, लक्ष्मि गौतम, सन्तु कुमारी ढकाल र देवीमाया घिमिरे गरी ५ जना महिला उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ, जसले संस्थाको नीति निर्माण र कार्यकारी तहमा बलियो महिला नेतृत्व स्थापित हुने निश्चित गरेको छ। प्रशासनिक मेरुदण्ड मानिने सचिव पदका लागि भने यस पटक सबैभन्दा बढी उम्मेदवारहरूको प्रतिस्पर्धा हुँदैछ, जहाँ रमाकान्त काफ्ले, देवराज भट्टराई, मुरारी प्रसाद लम्साल, ज्ञानेन्द्र न्यौपाने, शेरबहादुर ठाडा, माधव प्रसाद लम्साल, शालिकराम कोइराला र दिपेन्द्र न्यौपाने गरी ८ जना चुनावी मैदानमा उत्रिनुभएको छ। त्यस्तै, आर्थिक पारदर्शिता र सुशासनको प्रमुख जिम्मेवारी बोक्ने लेखा संयोजक पदका लागि शालिकराम सापकोटा, चिन्तामणी पौडेल र धन बहादुर राना मगर बीच त्रिपक्षीय भिडन्त हुने भएको छ।
विभिन्न वडाहरूबाट कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गर्नका लागि वडा प्रतिनिधिहरूको प्रतिस्पर्धा पनि रोमान्चक बनेको छ। जसअन्तर्गत कावासोती-२ बाट टेकनाथ चपाई, रेशम काफ्ले, गम्विराम सारु र धन बहादुर गुरुङ्ग गरी ४ जना चुनावी मैदानमा हुनुहुन्छ। त्यस्तै कावासोती-३ बाट शालिग्राम भट्टराई, भरत राज सेढाई र दिपेन्द्र राज मरासिनी, कावासोती-५ बाट कृष्ण प्रसाद गुरुङ्ग, बिर बहादुर थापा र रुद्र प्रसाद भण्डारी तथा कावासोती-६ बाट यदुराम अधिकारी, ईन्द्रप्रसाद काफ्ले र बिष्णु प्रसाद काफ्ले प्रतिस्पर्धामा हुनुहुन्छ। कावासोती-८ बाट माधव प्रसाद पोख्रेल, मन बहादुर गुरुङ्ग र कृष्ण प्रसाद बस्ताकोटी तथा कावासोती-९ बाट सुर्य बहादुर हमाल, माया बोहरा क्षेत्री र पबित्रा शर्माले वडा प्रतिनिधिको रूपमा उम्मेदवारी दिनुभएको छ।
समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नका लागि आरक्षित गरिएका कोटाहरूमा पनि उम्मेदवारहरूको राम्रो उपस्थिति छ। खुल्ला लेखा सदस्यका लागि बलराम आचार्य, गिरी राज गिरी, ईश्वरी प्रसाद अधिकारी र श्रीखण्ड प्रसाद काफ्ले चुनावी मैदानमा हुनुहुन्छ भने लेखा महिला सदस्यका लागि हुमकला भुसाल पोख्रेल, कुमारी कृष्ण खरेल पाण्डे र बेलमाया चापागाईं बीच प्रतिस्पर्धा हुँदैछ। कार्यसमिति सदस्य अन्तर्गत जनजाती महिला कोटातर्फ मिना कुमारी राना, देवकी पुन, सुन माया थापा र बिर्सना सुनार गरी ४ जना र दलित महिला कोटातर्फ शोभा दमाई परियार र सनसरि नेपाली चुनावी मैदानमा रहनुभएको छ। मुख्य निर्वाचन अधिकृत अधिवक्ता गणेश सापकोटाले आषाढ ०६ गते हुने मतदान प्रक्रियालाई मर्यादित, शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण उपभोक्ता, उम्मेदवार तथा नगरवासीहरूमा हार्दिक अपिल गर्नुभएको छ।
चुनावी एजेन्डाहरूबारे कुरा गर्दै अध्यक्षका उम्मेदवार दिपकराज लम्सालले संस्थाको वित्तीय सबलत्ता, सस्तो शुल्कमा पानी वितरणको निरन्तरता र चुस्त व्यवस्थापनलाई आफूले मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। उपभोक्ताहरूको घरदैलोमा शुद्ध खानेपानी पुर्याउने र संस्थागत विकास गर्ने मुख्य एजेन्डासहित अध्यक्षका आकांक्षीहरू यतिबेला मतदाताको घरदैलोमा व्यस्त देखिन्छन्।

उज्यालो खबर