नवलपुर।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको प्रथम जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कावासोतीस्थित स्वस्तिक बैङ्क्वेटमा जारी अधिवेशनले जिल्लाको नयाँ कार्यसमिति चयन गर्नेछ।
निर्वाचन समितिका अनुसार मतदान आज बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म चल्नेछ भने मतदान सम्पन्न हुनासाथ आजै मतगणना सुरु गरिनेछ। यस ऐतिहासिक प्रथम अधिवेशनमा जिल्लाभरिबाट चुनिएका प्रतिनिधिहरूले मतदानमा भाग लिँदैछन्।
जिल्ला सभापति पदका लागि ६ जना नेताहरू चुनावी मैदानमा उत्रिएका छन्। उम्मेदवारहरूमा गोकुल सापकोटा, संस्थापक जिल्ला सभापति नरिश्वर लामिछाने, सिता कुमारी अर्याल, नेत्रप्रसाद भूसाल, दोमन भण्डारी र कृष्ण गौतम रहनुभएको छ।
चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूमध्ये नेता गोकुल सापकोटा यतिबेला अरूभन्दा बढी चर्चा र आकर्षणको केन्द्रमा रहनुभएको छ। आम कार्यकर्ता र प्रतिनिधिहरूमाझ स्थापित, सालिन र लोकप्रिय छवि बनाएका सापकोटालाई यस निर्वाचनमा जितको बलियो दाबेदारका रूपमा हेरिएको छ।
सहमति सङ्घर्षपूर्ण बनेपछि लोकतान्त्रिक विधि (मतदान) मार्फत नयाँ नेतृत्वको टुङ्गो लगाउन लागिएको हो। रास्वपाले सांगठनिक सुदृढीकरणलाई तीव्रता दिइरहेका बेला नवलपुरमा हुन लागेको यो अधिवेशनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।



उज्यालो खबर




