कावासोती- कावासोती खानेपानी तथा सर–सफाई उपभोक्ता संस्थाको आगामी निर्वाचनको मिति नजिकिएसँगै स्थानीय तहमा चुनावी सरगर्मी निकै बढेको छ । यसै क्रममा संस्थाका वर्तमान अध्यक्ष दिपकराज लम्सालले आगामी कार्यकालका लागि पुनः अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उपभोक्ता माझ लोकप्रिय र विकासप्रेमी नेताको पहिचान बनाएका लम्सालको उम्मेदवारीसँगै चुनावी माहौल थप रोचक बनेको छ ।
को हुन् दिपकराज लम्साल ?
कावासोती नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा दिपकराज लम्साल स्थानीय क्षेत्रमा एक बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन् । सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय लम्सालको शिक्षा क्षेत्रमा समेत ठूलो लगानी र आबद्धता रहेको छ । शिक्षासेवी र प्रबुद्ध वर्गको छवि बनाएका कारण पनि स्थानीय समाजमा उनको बलियो पकड र सम्मान छ ।
वि.सं. २०७९ पुसमा सम्पन्न संस्थाको ९ औं अधिवेशनमा विभिन्न राजनीतिक दलहरूको साझा गठबन्धनको समर्थनमा उनी अत्यधिक मतका साथ अध्यक्ष पदमा निर्वाचित भएका थिए । उपभोक्ता समितिको नेतृत्व सम्हालेदेखि नै उनले कावासोती क्षेत्रको खानेपानी व्यवस्थापन र सरसफाइको क्षेत्रमा महत्त्वपूर्ण सुधारका कार्यहरू गर्दै आएका छन् ।
किन चर्चामा छ उनको नेतृत्व ?
लम्सालको कार्यकालमा कावासोतीबासीलाई उपभोक्ता हित अनुकूल हुने गरी नेपालकै सबैभन्दा सस्तो र उच्च गुणस्तरीय खानेपानी वितरण गर्ने नीतिलाई प्राथमिकता दिइएको थियो । आम सर्वसाधारणको दैनिक जीवनसँग जोडिएको पानी जस्तो संवेदनशील विषयलाई कम लागतमा घर–घरमा पुर्याउन उनले खेलेको समन्वयकारी भूमिकाको स्थानीयस्तरमा अहिले पनि उच्च प्रशंसा हुने गरेको छ ।
सबै विचार र दलका उपभोक्ताहरूलाई मिलाएर संस्थाको हितमा काम गर्न सक्ने क्षमता नै उनको सबैभन्दा सबल पक्ष मानिन्छ । एक कुशल व्यवस्थापक र जनमुखी सामाजिक व्यक्तित्वका रूपमा उनले संस्थालाई नयाँ उचाइमा पुर्याएको उपभोक्ताहरूको भनाइ छ ।
यसपटकको संकल्प
‘नेपालकै सस्तो र गुणस्तरीय पानी खुवाउने’ मुख्य संकल्प र विगतको सफल कार्यअनुभवलाई नै मुख्य हतियार बनाएर लम्साल यसपटक पनि चुनावी मैदानमा होमिएका हुन् । उपभोक्ताको हकहित संरक्षण र संस्थाको थप संस्थागत विकासका लागि नै आफ्नो उम्मेदवारी रहेको लम्साल पक्षको दाबी छ । उनको यो उम्मेदवारीसँगै कावासोतीमा चुनावी चर्चा परिचर्चाले नयाँ मोड लिएको छ ।
विगतमा दलीय गठबन्धन खडा गरेर निर्वाचन लडिएको भए तापनि यसपटक दलहरूले एकल उम्मेदवारी दिएका छन् । दलहरू यसरी एक्लाएक्लै मैदानमा उत्रिएका कारण यस निर्वाचनलाई आउँदो स्थानीय तहको निर्वाचनमा ‘कसको कति दम रहेछ’ भनेर हेर्ने एउटा बलियो अवसर वा राजनीतिक शक्ति परीक्षणको रूपमा समेत हेरिएको छ । यसले गर्दा खानेपानीको यो चुनावी प्रतिष्पर्धालाई सम्पूर्ण कावासोतीबासीले निकै चासोका साथ नियालिरहेका छन् ।

उज्यालो खबर