गैँडाकोट- पूर्वी नवलपरासीको गैँडाकोटमा भारतीय नम्बर प्लेटको कारले स्कुटरलाई ठक्कर दिँदा एक जना वृद्धाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन्।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गैँडाकोट नगरपालिका वडा नं. ११ स्थित बोडिङ चोकमा आज दिउँसो करिब ४:२० बजे उक्त दुर्घटना भएको हो। नारायणगढतर्फबाट कावासोतीतर्फ जाँदै गरेको UP 57 CD 9010 नम्बरको भारतीय कारले विपरित दिशाबाट आउँदै गरेको ग.प्र.०४-००१ प २३०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटरमा सवार हुप्सेकोट गाउँपालिका वडा नं. १ बस्ने ७७ वर्षीया सावित्री भुसालको उपचारका क्रममा नयाँ मेडिकल कलेज (चितवन मेडिकल कलेज) भरतपुरमा साँझ ५:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि स्कुटर चालक हुप्सेकोट–१ कै ४० वर्षीया सानु भनिने सीता भुषाल घाइते भएकी छन्। उनको टाउको र दुवै हातमा चोट लागेको छ। अस्पतालका अनुसार उनको अवस्था मध्यम रहेको र हाल उपचार जारी छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कार चालक भारतको उत्तर प्रदेश, सुखिनगर कसैया बस्ने ४३ वर्षीय करुणा निधान मिश्र र दुर्घटनामा परेका दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। प्रहरी टोलीले घटनास्थल पुगेर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।



उज्यालो खबर




