×

कावासोती – देशकै नमूना र ठूला खानेपानी संस्थाहरूको सूचीमा अग्रपंक्तिमा आउने कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी तीन वर्षे कार्यकालका लागि चुनावी सरगर्मी निकै चुलिएको छ। संस्थाको १० औँ अधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आगामी आषाढ ०६ गते मतदान हुँदैछ। आषाढ ०१ गते उम्मेदवारी मनोनयन फिर्ता लिने समयसीमा समाप्त भएसँगै चुनावी मैदानमा उत्रिने उम्मेदवारहरूको अन्तिम टुङ्गो लागेपछि यतिबेला कावासोतीमा चुनावी माहोल निकै तातेको छ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गणेश सापकोटाका अनुसार यस पटक संस्थाको विभिन्न पदहरूमा नेतृत्वका लागि उत्साहजनक र निकै तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्न प्राविधिक, व्यवस्थापकीय तथा सुरक्षा तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ।

उदाहरणीय संस्था, ७ हजार ९ सय ९१ मतदाता कावासोतीका वडा नम्बर २, ३, ५, ६, ८ र ९ मा पानी वितरण गर्दै आएको यस संस्थाले हालसम्म ९ हजार ८ सय ४४ वटा धारा जडान गरी करिब ६० हजार उपभोक्तालाई स्वच्छ खानेपानी पुर्‍याइरहेको छ। प्राविधिक रूपमा अत्यन्त सबल यस संस्थासँग ३ हजार २ सय घनमिटर क्षमताका पानी ट्याङ्कीहरू रहेका छन् भने यसको वित्तीय अवस्था पनि देशकै उदाहरणीय र सुदृढ छ।

हाल बैंकमा करिब १२ करोड रुपैयाँ मौज्दात रहेको यस संस्थाले उपभोक्ताहरूलाई सबैभन्दा सस्तो र सुलभ दरमा सेवा दिँदै न्यूनतम १० हजार लिटरसम्मको पानी मात्र ५० रुपैयाँमा वितरण गरेर लोकप्रियता कमाएको छ। यस पटकको निर्वाचनमा कुल ७ हजार ९ सय ९१ जना मतदाता रहेका छन्, जसमा चैत्र मसान्तसम्मको खानेपानी महसुल र शुल्क बैशाख मसान्तसम्म चुक्ता गरेका उपभोक्ताहरूले मात्र मतदान गर्न पाउने वैधानिक व्यवस्था छ।

नेतृत्वका लागि भारी भिडन्त: कसको पल्ला भारी  ?

संस्थाको गरिमामय नेतृत्व अर्थात् अध्यक्ष पदका लागि ६ जना सशक्त उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। मैदानमा दिपकराज लम्साल, लोक प्रसाद काफ्ले, हेम प्रसाद पाण्डे, यात्माराम सुवेदी, अमृत कुमार श्रेष्ठ र फणिन्द्र ब थापा मगर रहनुभएको छ। अध्यक्षका उम्मेदवार दिपकराज लम्सालले संस्थाको वित्तीय सबलत्ता, सस्तो शुल्कमा पानी वितरणको निरन्तरता र चुस्त व्यवस्थापनलाई आफूले मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। उपभोक्ताहरूको घरदैलोमा शुद्ध खानेपानी पुर्‍याउने र संस्थागत विकास गर्ने मुख्य एजेन्डासहित अध्यक्षका आकांक्षीहरू यतिबेला मतदाताको घरदैलोमा व्यस्त देखिन्छन्।

यस पटकको निर्वाचनको सबैभन्दा रोचक र उल्लेखनीय पक्ष उपाध्यक्ष पदमा शतप्रतिशत महिला सहभागिता रहनु हो। उपाध्यक्षका लागि नर्मदा रानाभाट, विन्दु पराजुली ढकाल, लक्ष्मि गौतम, सन्तु कुमारी ढकाल र देवीमाया घिमिरे गरी ५ जना महिला उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ, जसले संस्थाको नीति निर्माण र कार्यकारी तहमा बलियो महिला नेतृत्व स्थापित हुने निश्चित गरेको छ।

प्रशासनिक मेरुदण्ड मानिने सचिव पदका लागि भने यस पटक सबैभन्दा बढी उम्मेदवारहरूको प्रतिस्पर्धा हुँदैछ, जहाँ रमाकान्त काफ्ले, देवराज भट्टराई, मुरारी प्रसाद लम्साल, ज्ञानेन्द्र न्यौपाने, शेरबहादुर ठाडा, माधव प्रसाद लम्साल, चुनावी मैदानमा उत्रिनुभएको छ। त्यस्तै आर्थिक पारदर्शिता र सुशासनको प्रमुख जिम्मेवारी बोक्ने लेखा संयोजक पदका लागि शालिकराम कोइराला, शालिकराम सापकोटा, चिन्तामणी पौडेल र धन बहादुर राना मगर, दिपेन्द्र न्यौपाने बीच  भिडन्त हुने भएको छ।

वडा र आरक्षित कोटामा पनि तीव्र प्रतिस्पर्धा विभिन्न वडाहरूबाट कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गर्नका लागि वडा प्रतिनिधिहरूको प्रतिस्पर्धा पनि रोमान्चक बनेको छ। जसअन्तर्गत कावासोती-२ बाट ४ जना (टेकनाथ चपाई, रेशम काफ्ले, गम्विराम सारु र धन बहादुर गुरुङ्ग) मैदानमा छन् भने कावासोती-३, ५, ६, ८ र ९ बाट जनही ३/३ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा होमिएका छन्।

समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नका लागि आरक्षित गरिएका कोटाहरूमा पनि उम्मेदवारहरूको राम्रो उपस्थिति छ। खुल्ला लेखा सदस्यका लागि ४ जना, लेखा महिला सदस्यका लागि ३ जना, जनजाती महिला कोटातर्फ ४ जना र दलित महिला कोटातर्फ २ जना चुनावी मैदानमा रहनुभएको छ।

मुख्य निर्वाचन अधिकृत अधिवक्ता गणेश सापकोटाले आषाढ ०६ गते हुने मतदान प्रक्रियालाई मर्यादित, शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण उपभोक्ता, उम्मेदवार तथा नगरवासीहरूमा हार्दिक अपिल गर्नुभएको छ। अरबौँको सम्पत्ति र करोडौँको बैंक मौज्दात रहेको यो गरिमामय संस्थाको साँचो आगामी ३ वर्षका लागि कसको हातमा पुग्ने हो, त्यसको छिनोफानो भने आगामी आषाढ ६ गते साँझपछि मात्र हुनेछ।

तपाईको प्रतिक्रिया