गैँडाकोट- गैँडाकोट क्षेत्रकै प्रतिष्ठित शैक्षिक धरोहर जनक नमूना माध्यमिक विद्यालयले नयाँ नेतृत्व पाएको छ। विद्यालयको चौतर्फी विकास र गरिमालाई अझ उच्च बनाउने संकल्पका साथ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) को अध्यक्ष पदमा प्रखर युवा समाजसेवी, शैक्षिक एवं सामाजिक व्यक्तित्व गोविन्दप्रसाद घिमिरे सर्वसम्मतरूपमा चयन हुनुभएको छ।
गैँडाकोट-५ निवासी घिमिरे लामो समयदेखि यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थाहरूको सफल नेतृत्व गरिसक्नुभएका स्थापित चेहरा हुनुहुन्छ। शिक्षाको मर्म र समसामयिक आवश्यकतालाई नजिकबाट केलाउन सक्ने, दूरदर्शी र कर्तव्य पथमा सधैँ अडिग रहने जुझारु छविका घिमिरे नेतृत्वमा आएसँगै विद्यालयले शैक्षिक, भौतिक तथा प्रविधिमैत्री क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने भन्दै स्थानीय शिक्षाप्रेमी, अभिभावक र विद्यार्थीहरू निकै उत्साहित देखिएका छन्।
नवनिर्वाचित अध्यक्ष घिमिरेको सारथीका रूपमा विद्यालय व्यवस्थापन समितिमा क्षेत्रकै प्रतिष्ठित व्यक्तित्वहरू समेटिएका छन्। नवगठित समितिमा स्थानीय शिक्षाप्रेमी होमनाथ पौडेल सदस्यका रूपमा चयन हुनुभएको छ भने महिला प्रतिनिधित्वलाई बलियो बनाउँदै रेनुका सिग्देल शर्मा र लक्ष्मी उपाध्याय सदस्य पदमा सर्वसम्मत हुनुभएको छ।
त्यसैगरी, स्थानीय सरकार र विद्यालयबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन गैँडाकोटका जनप्रिय जनप्रतिनिधि एवं वडाध्यक्ष रत्नप्रसाद सापकोटाले वि.व्य.स. सदस्यको जिम्मेवारी सम्हाल्नुभएको छ भने विद्यालयको प्रशासनिक नेतृत्व सम्हालिरहनुभएका प्रधानाध्यापक बुद्धिसागर पण्डितले समितिको सदस्य-सचिवको रूपमा भूमिका निर्वाह गर्नुहुनेछ।
यसैगरी, विद्यालयको आन्तरिक सुधार र अभिभावकहरूको आवाजलाई बुलन्द पार्न महत्वपूर्ण मानिने शिक्षक अभिभावक संघको अध्यक्ष पदमा कृष्णप्रसाद शर्मा चयन हुनुभएको छ। शर्माको नेतृत्वमा गठन भएको सम्पूर्ण सदस्यज्यूहरूको कार्यसमितिले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।
नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरेले आफू पदका लागि भन्दा पनि कर्तव्य पूरा गर्न आएको बताउनुभएको छ। घिमिरेले भन्नुभयो, “जनक नमूना माविको साखलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न मेरो सम्पूर्ण ऊर्जा खर्चिनेछु। नयाँ टिमको सामूहिक प्रयास, प्रविधिमैत्री शिक्षण पद्धति र गुणस्तरीय शिक्षामार्फत हामी अभिभावक र विद्यार्थीको भरोसा टुट्न दिने छैनौँ।”

उज्यालो खबर