×

चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा समुदायलक्षित बृहत् आँखा शिविरको आयोजना गरिएको छ । ‘भोलिको उज्यालो भविष्यका लागि आँखाको हेरचाह’ भन्ने नाराका साथ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा मंगलबार सम्पन्न उक्त आँखा शिविरमा विद्यार्थी, शिक्षक–कर्मचारी तथा समुदायका व्यक्तिहरू गरी चार सय ९७ जनाको आँखा जाँच गरिएको हो ।

विद्यालयको नियमित क्रियाकलापअन्तर्गत सामाजिक उत्तरदायित्वतर्फ ३५ वर्ष उमेर पुगेका ४८ जना स्थानीय समुदायका बासिन्दाको समेत आँखा जाँच गरिएको विद्यालयका स्वास्थ्य तथा कल्याण निर्देशक सरला पौडेलले जानकारी दिइन् । आँखा जाँच गरिएका समुदायका तीन जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । आँखा जाँच गरी ‘रिफर’ गरिएका उनीहरूको भरतपुर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको उनले बताइन् ।

त्यसैगरी, आँखा परीक्षण गरिएका विद्यार्थीमध्ये ४८ जनालाई चस्मा लगाउन सिफारिस गरिएको छ । भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक राजेश घिमिरेका अनुसार चस्मा आवश्यक भएका १३ वर्षमुनिका बालबालिकाले समयमै चस्मा प्रयोग नगरेमा भविष्यमा चस्मा लगाए पनि दृष्टि समस्याको पूर्ण समाधान नहुन सक्छ । उनले बालबालिकाको दृष्टि स्वास्थ्य संरक्षणका लागि आवश्यक परेमा समयमै चस्मा प्रयोग गर्न अभिभावक तथा शिक्षकहरूलाई सचेत रहन आग्रह गरे ।

वाह्य संयोजक घिमिरेसहित सुवास सापकोटा, रञ्जना पोखरेल, आयुष पौडेल, रिद्धी खरेल र दिपिका विष्टलगायतका प्राविधिकहरूको सक्रियतामा आँखा शिविर सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया