काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकमा महिला डाक्टर र नर्सको नक्कली अकाउन्ट (फेक आईडी) बनाएर युवती र बालिकाहरूलाई ब्ल्याकमेल गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका-४ बस्ने ३२ वर्षीय निर्मल थापा क्षेत्री रहेका छन् । उनीविरुद्ध रूपन्देही जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर गरिएको छ ।
अदालतमा दर्ता भएको अभियोगपत्र अनुसार, थापाले फेसबुकमा ‘रेजिना थापा’ र ‘सरिता मगर’ नामका दुईवटा नक्कली प्रोफाइल बनाएका थिए । उनले ‘रेजिना थापा’ को आईडीबाट १४ वर्षीया एक बालिकालाई फ्रेन्ड रिक्वेस्ट पठाई आफू पाल्पा मिसन अस्पतालकी महिला डाक्टर भएको बताएका थिए । बालिकालाई ‘गम्भीर रोग लागेको हुन सक्ने’ डर देखाएर उनले अनलाइनबाटै ‘फुल बडी चेकअप’ गर्ने बहानामा सम्पूर्ण शरीर देखिने नग्न फोटो र भिडिओ पठाउन लगाए ।
बालिकाले विश्वासमा परेर फोटो पठाएपछि थापाले कतारी नम्बरको ह्वाट्सएपबाट फोन र मेसेज गर्दै ‘मेडिकल रिपोर्ट बिग्रिएको र भेटेरै औषधि हाल्नुपर्ने’ भन्दै अर्घाखाँची र पाल्पाको सिमानामा भेट्न बोलाए । बालिकाले भेट्न अस्वीकार गरेपछि ती नग्न तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल गरिदिने र आफन्तलाई पठाइदिने धम्की दिँदै ब्ल्याकमेल गर्न थाले । अनुसन्धानका क्रममा उनले जबरजस्ती करणी गर्ने नियतले बालिकालाई डर त्रास देखाई भेट्न बोलाएको खुलेको छ ।
यसैगरी, उनले ‘सरिता मगर’ नामको अर्को फेक आईडीबाट २० वर्षीया युवतीलाई आफू नर्स भएको भन्दै भलिबल टिममा दर्ता गराइदिने बहाना बनाएका थिए । त्यसका लागि मेडिकल रिपोर्ट चाहिने भन्दै नग्न फोटो माग गर्दा युवतीले इन्कार गरेपछि थापाले उनको फेसबुकको साधारण फोटो डाउनलोड गरे । त्यसपछि टाउको काटेर अर्कै महिलाको नग्न शरीरमा जोडी अश्लील फोटो बनाएर मेसेन्जरमा पठाउँदै ब्ल्याकमेल गरेका थिए ।
३ वर्ष कतारमा रोजगारी गरेर फर्किएका थापाले आफ्नो वास्तविक पहिचान लुकाउन कतारी सिमकार्डबाट ह्वाट्सएप चलाउने गरेका थिए । पीडितहरूको उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीसमक्ष थापाले ‘रमाइलोका लागि’ बालिकाहरूको गोप्य अङ्ग हेर्न नग्न फोटो मगाएको र डर देखाएर भेट्न बोलाएको स्वीकार गरेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले थापाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम कडा सजायको माग गर्दै मुद्दा चलाएको छ । साथै, अपराधमा प्रयोग भएको मोबाइल फोन जफत गर्न र पीडितहरूलाई कसुरदारबाट उचित क्षतिपूर्ति भराउन समेत मागदाबी गरिएको छ ।



उज्यालो खबर




