×

काठमाडौँ-  संयुक्त राज्य अमेरिकाको लस भेगासमा आयोजना हुने विश्वका विवाहित महिलाहरूको प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड २०२६ मा नेपालबाट डा. सञ्जु भट्टले प्रतिनिधित्व गर्ने हुनुभएको छ।

आगामी जनवरी २२ देखि ३० तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुने तय भएको हो। मिसेस नेपाल वल्र्ड २०२५ की विजेता रक्षा पन्त व्यक्तिगत तथा व्यावसायिक प्रतिबद्धताका कारण प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि उहाँको स्थानमा डा. भट्टलाई चयन गरिएको मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट प्रालिका सीईओ निशु कान्त झाले जानकारी दिनुभयो।

डा. सञ्जु भट्ट केही समयअघि राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्ड २०२५ प्रतियोगितामा मिसेस नेपाल इन्टरनेशनल २०२५ को उपाधि विजेता बन्नुभएको थियो। उहाँको आत्मविश्वास, व्यक्तित्व, सामाजिक चेतना तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने क्षमताका आधारमा मिसेस वल्र्डमा प्रतिनिधित्व गराउने निर्णय गरिएको आयोजकले जनाएको छ।

मंगलबार राजधानीको नयाँ बानेश्वरस्थित ईन्द्रेणी सुईट होटलको बेभ लाउन्जमा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे औपचारिक जानकारी गराइएको हो।

प्रतियोगिताको तयारीका क्रममा डा. भट्टले व्यक्तित्व विकास, ¥याम्प वाक, पब्लिक स्पिकिङ, फिटनेस तथा ग्रुमिङसम्बन्धी प्रशिक्षण अनुभवी प्रशिक्षक तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूबाट लिइरहनुभएको छ। उहाँले प्रतियोगितामा प्रस्तुत गर्ने राष्ट्रिय पोशाक (नेशनल कस्ट्युम) आईआईएफटी नेपालद्वारा डिजाइन गरिँदैछ भने अन्य चरणमा प्रयोग हुने पहिरन सेन्ट्रल फेशन स्कूल तथा प्रख्यात फेसन डिजाइनरहरूसँगको सहकार्यमा व्यवस्थापन गरिएको छ।

यसअघि नेपालबाट पृथिविया थापा र दीक्षा केसीले मिसेस वल्र्ड प्रतियोगितामा सहभागिता जनाउँदै नेपालको प्रतिनिधित्व गरिसकेका छन्। यसपटक डा. भट्टले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान अझ सशक्त बनाउने अपेक्षा आयोजकले गरेका छन्।

चितवनको रत्ननगर निवासी डा. सञ्जु भट्ट पेशाले चिकित्सकसमेत हुनुहुन्छ।

तपाईको प्रतिक्रिया