×

राष्ट्रिय स्वतन्त्र पार्टी का रूपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार डा. लेखजंग थापाले बहुविवाह गरेको र मुद्दा परेपछि सम्बन्ध विच्छेद गरेको देखिएको छ।लेखजंगले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा रूपन्देही जिल्ला अदालतको आदेश सार्वजनिक गर्दै सम्बन्ध विच्छेद भइसकेको दाबी गरेका हुन्।

उनले सार्वजनिक गरेको सम्बन्ध विच्छेदको सामग्रीमा उनले कतिपय कुराहरू नियतवश छोपेका छन्। उनले सार्वजनिक गरेको अंशमा कुन पत्नीसँग सम्बन्ध विच्छेद गरेको र किन गरेको खुलेको छैन।

त्यसपछि हामीले अदालतको आदेशको पूर्ण अंश नै खोजेर अध्ययन गर्दा लेखजंगविरूद्ध उनकी कान्छी पत्नी नुमा शर्माले मुद्दा दर्ता गरेको देखिन्छ। उजुरी दिँदा जेठी वा कान्छी पत्नी भन्ने उल्लेख छैन। त्यसरी उल्लेख गरेको भए बहुविवाह गरेको त्यसबेलै प्रस्ट हुन्थ्यो। जेठी पत्नीले मुद्दा हालेको भए बहुविवाह गरेर कान्छी ल्याएको उल्लेख हुन्थ्यो। लेखजंगका छिमेकीहरूले नुमा कान्छी पत्नी भएको बताएका छन्।

अदालतमा दर्ता गरेको मुद्दानुसार उनीहरूबीच २०७० सालमा विवाह भएको र २०७१ असोज १९ गते छोराको जन्म भएको उल्लेख छ।लेखजंगकी पत्नी नुमाले दायर गरेको मुद्दामा २०७९ साल पुस २० गते आफूलाई खान–लगाउन केही पनि नदिई शारीरिक र मानसिक यातनासमेत दिई घरबाट निकालेको उल्लेख छ।

उनले अदालतमा दर्ता गरेको मुद्दामा भनिएको छ, हामी दुवै जना त पत्नीको रूपमा बसी आएकोमा विपक्षी पक्षले घरको काम व्यवहार नगरी अरूको कुरा सुनी मलाई सधैं गाली गर्ने, खान लगाउनमा दुःख दिई घरमा रहन बस्न समेत नदिएकाले मिति २०७९ पुस २० गते घरबाट निकाला गरेको र विपक्षी पक्षले मलाई मानसिक तथा शारीरिक पीडा दिँदै आएको हुँदा सहँदै बसी आएकामा निजलाई सम्झाउँदा उल्टै नमानी बारम्बार शारीरिक र मानसिक कष्ट हुने यातना दिई आएकाले बाध्य भई निज पतिसँग मेरो पछिसम्म राम्रो सम्बन्ध हुनसक्ने अवस्था नरहेकोले र मैले आफ्नो जीविकोपार्जन गर्नका लागि स्वतन्त्र बस्न श्रेयस्कर सम्झी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा ८, मुलुकी देवानी संहिता, २०७४ को दफा ९५ ९ख० ९ग० तथा ऐ। दफा ९६ नं। को आधार एवं ऐ। को दफा १०४ ले तोकिएको हदम्याद भित्र प्रस्तुत नालिस गर्न आएकी छु।

यो मुद्दा परेपछि लेखजंगले कान्छी पत्नीसँग अदालतमै गएर २०७९ माघ १५ गते मिलापत्र गरेर सम्बन्ध विच्छेद गरेको देखिन्छ।यसरी लेखजंगले पहिलो पत्नी सुलोचना घिमिरेसँग विवाह कायम रहेकै बेला दोस्रो पत्नी नुमासँग विवाह गरेको र बच्चासमेत भएको देखिन्छ।

लेखजंगले आफ्नो युट्युब च्यानल ‘सुपर थापा फ्यामिली’ भन्दै पाँच वर्षअगाडि जेठी श्रीमती सुलोचना घिमिरे, कान्छी पत्नी नुमा शर्मा, दुवै छोराहरूको भिडिओ अपलोड गरेका थिए।सो भिडिओको निर्देशक लेखजंग, प्रोडक्सन डिजाइनर जेठी पत्नी सुलोचना र लेखन कान्छी पत्नी नुमाले गरेको उल्लेख छ। यसरी केही वर्षसम्म दुवै जना श्रीमतीसँग लेखजंग सँगै बसेको देखिन्छ।

मिलापत्र गर्दा श्रीमती नुमा शर्माले कुनै पनि अंश दाबी गरेकी छैनन्। छोराको लालनपालनको जिम्मा दुवै जनामा रहने उल्लेख छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया