जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि समाजसेवी दिलीप कंडेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
‘साझा नेपाली सांस्कृतिक घर निर्माणमा पूर्ण प्रतिबद्धता’ भन्ने मूल नाराका साथ अगाडि बढेका कंडेलले जापानमा बसोबास गर्ने नेपाली समुदायको हितमा सक्रिय र सशक्त नेतृत्व दिन आफू तयार रहेको घोषणा गरेका हुन् ।
बागलुङको गल्कोटमा जन्मिएर जापानलाई आफ्नो कर्मभूमिका रूपमा स्थापित गरेका कंडेल विगत एक दशकदेखि सामाजिक सेवामा समर्पित छन् । नेपालमा मठ–मन्दिरको संरक्षण, ग्रामीण सडक निर्माण, कृषि प्रवर्द्धनदेखि लिएर जापानमा रहेका नेपालीहरूको समस्याको समाधानमा अग्रपंक्तिमा खटिँदै आएका उनी विशेषगरी कान्साई क्षेत्रमा लोकप्रिय नामका रूपमा चिनिन्छन् ।
विद्यार्थी, श्रमिक तथा आपतविपत्तिमा परेकाहरूको सहयोगमा सक्रिय रहने कंडेल जात, धर्म, भाषा र संस्कृतिप्रति गहिरो सम्मान राख्ने समावेशी सोचका नेतृत्वकर्ता मानिन्छन् ।
जापानमा रहेका जातीय, भेगीय तथा प्रदेशस्तरीय संघसंस्थाहरूमा समेत प्रभावशाली भूमिका निभाउँदै आएका कंडेलले एनआरएनए जापानलाई पारदर्शी, उत्तरदायी र समावेशी बनाउने दृष्टिकोणसहित उम्मेदवारी अघि सारेका छन् ।
उनले भनेका छन्, “एनआरएनए एउटा साझा घर हो, जहाँ सबैको सम्मान, सहभागिता र हक सुनिश्चित हुनुपर्छ । म नेपाली समुदायको चासो, भावना र आवश्यकताहरूलाई प्राथमिकतामा राखेर काम गर्न प्रतिवद्ध छु ।”
कंडेलको उम्मेदवारीसँगै एनआरएनए जापानको चुनावी माहोल थप चुलिएको छ । समाजसेवी छविका कारण उनी उपाध्यक्ष पदका बलिया दावेदारको रूपमा हेरिएको छ ।



उज्यालो खबर




