×

नवलपुरका दुई मेधावी छात्राहरुले यस वर्षको एसईई परीक्षामा जिल्ला स्तरमै रेकर्ड सफलता हात पार्दै नवलपुरको शैक्षिक क्षितिजमा नयाँ इतिहास रच्न सफल भएका छन्। गैँडाकोट नगरपालिका–१२ स्थित जनता माध्यमिक विद्यालय, हर्कपुरकी छात्रा अंकिता अधिकारी र मध्यविन्दुको नवजागरण नमुना माध्यमिक विद्यालयकी छात्रा अनुष्का बस्यालले ४.०० पूर्ण ग्रेड प्वाइन्ट (GPA) ल्याउँदै जिल्ला प्रथम हुँदै उच्च कीर्तिमान कायम गरेका हुन्।

नवजागरण नमुना माध्यमिक विद्यालयको यसपटकको समग्र नतिजा अत्यन्तै सन्तोषजनक देखिएको छ। अनुष्कासँगै एन्जेल वाग्ले र आयुष्मा गैरेले ३.९५ GPA हासिल गरेका छन् भने पारस अर्यालले ३.९ GPA ल्याएर विद्यालयको शैक्षिक गुणस्तरलाई अझ उचाइमा पुर्‍याएका छन्।
विद्यालयका अनुसार  ३.६ भन्दा माथि GPA: १७ जना,३.२ देखि ३.६ GPA: २६ जना,२.८ देखि ३.२ GPA: ५४ जना,२.४ देखि २.८ GPA: ८ जनाले प्राप्त गरेका छन् ।

त्यस्तै जनता माध्यमिक विद्यालय, हर्कपुरको नतिजा पनि उत्साहजनक देखिएको छ। कूल ८७ जना विद्यार्थीले परीक्षा दिएकोमा ३.६–४.० GPA: ८ जना,३.२–३.६ GPA: १३ जना,२.८–३.२ GPA: ३१ जना,२.४–२.८ GPA: १० जना,२.०–२.४ GPA: १ जनाले प्राप्त गरेका छन् ।

विद्यालयका प्राचार्य पदमबहादुर खड्काका अनुसार समर्पित शिक्षक टोली, अभिभावकको साथ र विद्यार्थीहरूको निरन्तर प्रयासकै कारण विद्यालयले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार गर्न सफल भएको हो।हाल जनता माविमा कक्षा १२ सम्म ८५० जना विद्यार्थी अध्ययनरत छन् भने ४४ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। विद्यालयले आगामी वर्षहरूमा शैक्षिक नतिजा थप सुधार गर्ने दृढ संकल्प व्यक्त गरेको छ।

यी दुई विद्यालयको सफलता नवलपुरका लागि मात्र नभई समग्र प्रदेशको शैक्षिक उन्नयनको संकेतक बनेको छ।

तपाईको प्रतिक्रिया