×

चितवनको भरतपुर–४ स्थित होली भिजन पब्लिक स्कुलमा विद्यार्थी सभाको निर्वाचनमार्फत निर्वाचित प्रतिनिधिहरूको आज शुक्रबार एक विशेष समारोहका बीच सपथ ग्रहण सम्पन्न भएको छ।

विद्यालयमा लोकतान्त्रिक अभ्यासलाई आत्मसात् गर्दै गरिएको निर्वाचनबाट अध्यक्षमा प्रशान्त काफ्ले, उपाध्यक्ष सुदर्शन सापकोटा, सचिव विवेश भण्डारी लगायत विभिन्न हाउसका प्रमुख तथा उपप्रमुखहरू निर्वाचित भएका थिए।

समारोहमा प्रमुख निर्वाचन आयुक्त वेगनाथ गैरेले निर्वाचित विद्यार्थीहरूलाई पद तथा गोपनीयताको सपथ गराउँदै आफ्नो पदीय भूमिकालाई इमान्दारिता र कर्तव्यपरायणताका साथ निर्वाह गर्न प्रेरित गर्नुभयो। उहाँले निर्वाचनले लोकतान्त्रिक चेतना र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।

विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले शैक्षिक सत्र २०८२ का गतिविधिहरूलाई प्रभावकारी रुपमा अघि बढाउन निर्वाचन गरिएको बताउँदै विद्यार्थीहरूले आफ्नो भूमिकाप्रति जिम्मेवार भई कार्य गर्न निर्देशन दिनुभयो।

निर्वाचन प्रक्रियामा सातवटा मतपेटिका राखिएको थियो भने मतपत्रमा स्वस्तिक चिन्ह लगाएर मतदान गर्ने व्यवस्था गरिएको थियो। निर्वाचनको अघिल्लो दिन उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको र मतदाता शिक्षादेखि मौन अवधिसमेत पालना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख केशव पौडेलले जानकारी दिनुभयो।

 

तपाईको प्रतिक्रिया