चितवन । सौराहामा आगामी पुस १० देखि १४ गतेसम्म १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८० हुने भएको छ । कोरोना महामारीले रोकिएको महोत्सव पाँच वर्षपछि हुन लागेको हो । क्षेत्रिय होटल संघ नेपाल चितवनको आयोजनामा रत्ननगर नगरपालिका–७, मैनाहाचौरमा महोत्सव हुने छ ।देशैभरिका पर्यटन गतिविधिलाई समेटेर हात्तिका गतिविधि सहितको पर्यटन महोत्सव आयोजना गर्न लागेको महोत्सव कार्यक्रम संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिए ।
महोत्सवमा हात्तीलाई दुस्ख र पीडा हुने खालका गतिविधि हटाइने क्षेत्रिय होटल संघ नेपाल चितवनका पूर्व अध्यक्ष दिपक भट्टराईले जानकारी दिए । ‘विगतका वर्षहरुमा हात्ती पोलो, हात्ती दौड, हात्ती फुटबल हुन्थ्यो तर यसवर्ष भने जनावरहरुको अधिकारलाई मध्यनजर गर्दै हात्तीलाई पीडाहुने खालका गतिविधि कम गरेका छौँ,’ उनले भने, ‘यस वर्ष हात्तीको स्वास्थ्य परिक्षण, हात्तीको दिनचर्या र हात्ती वनभोज विशेष प्राथमिकतामा पारेका छौँ ।’
महोत्सवको मुख्य आर्कषणको रुपमा हात्ती वनभोज, हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, मैत्री पूर्ण खेलकुद प्रतियोगिता लगायत स्थानीय भेषभुषा तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने क्षेत्रिय होटल संघ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले जानकारी दिए ।
हात्ती लस्कर, हरेक दिन राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुको प्रस्तुती, चितवनमा पर्यटनको सम्भावना र चुनौती सम्बन्धि अन्तरक्रिया र उत्कृष्ट पथ प्रदर्शक, संरक्षणकर्मी, माउते, डुङ्गा चालक, जीप सफारी चालक र अन्य विविध शिप–कला प्रेमीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम समेत गरिने उनले बताए ।




उज्यालो खबर




