काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ बहुमत हासिल गरेसँगै एकल बहुमतको सरकार गठन प्रक्रिया अघि बढ्ने भएको छ।
निर्वाचन आयोग ले निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाउने तयारी गरेको छ। प्रतिवेदन पेस भएसँगै नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया सुरु हुनेछ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जित्दै करिब दुई तिहाइ बहुमत हासिल गरेको छ। अन्य दलहरूमा नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेकपाले १७, श्रम संस्कृति पार्टीले सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट जितेका छन् भने एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।
रास्वपाले चुनावअघि नै बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो। पार्टीले उनलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको जनाएको छ। संविधानअनुसार प्रधानमन्त्री बन्न प्रतिनिधिसभा सदस्य र संसदीय दलको नेता हुनुपर्ने व्यवस्था रहेको छ।
संवैधानिक व्यवस्थाअनुसार नवनिर्वाचित सांसदहरूले पहिले पद तथा गोपनीयताको शपथ लिनेछन्। त्यसपछि बहुमत प्राप्त दलले संसदीय दलको नेता चयन गर्नेछ र सोही नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्।
सङ्घीय संसद् सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम तय गरेको छ। शपथपछि संसदीय दल गठन, अभिमुखीकरण तथा अन्य संसदीय प्रक्रियाहरू अघि बढाइनेछ।
संविधानको धारा ९३ अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। संसद्को पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ र त्यसको सात दिनभित्र सभामुख तथा उपसभामुख चयन प्रक्रिया अघि बढाइनेछ।
नेपालको संविधान जारी भएपछि पहिलोपटक एकल बहुमत प्राप्त दलको नेतृत्वमा सरकार गठन हुन लागेको यो घटनालाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।




















उज्यालो खबर











