ब्युनस आयर्स- फिफा विश्वकपको फाइनल खेलमा स्पेनसँग १–० गोलको स्तब्धपूर्ण पराजय बेहोर्दै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने ऐतिहासिक अवसर गुमाएको छ । यस पराजयसँगै आधुनिक फुटबलका महान् खेलाडी लियोनेल मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रा पनि निराशाजनक रूपमा समाप्त भएको छ, जसका कारण अर्जेन्टिनाभर गहिरो शोक र सन्नाटा छाएको छ ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ९०औँ मिनेटपछि थपिएको इन्जुरी समयमा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले रातो कार्ड (दोस्रो पहेँलो कार्ड) खाँदै मैदान छाडेपछि अर्जेन्टिना निकै दबाबमा परेको थियो । १० खेलाडीमा सीमित अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयको १०६औँ मिनेटमा स्पेनका फेरान टोरेसले निर्णायक गोल गर्दै अर्जेन्टिनाको उपाधि रक्षा गर्ने सपना चकनाचुर पारिदिए ।
खेल सकिएको ह्विसल बज्दा ब्युनस आयर्सका बार, क्याफे र सार्वजनिक चोकहरूमा जम्मा भएका हजारौँ समर्थकहरू स्तब्ध र भावुक बनेका थिए । खेल सुरु हुनुअघि उत्साह र राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका प्रशंसकहरू खेलको अन्त्यतिर आँसु र निराशामा डुबेका देखिन्थे । धेरैका लागि यो हार केवल एउटा खेलको समाप्ति मात्र थिएन, बरु ३९ वर्षीय लियोनेल मेस्सीको जादुई विश्वकप यात्राको अन्त्य पनि थियो ।
२२ वर्षीय वास्तुकलाका विद्यार्थी क्यामिलो चिचेरोले खेलपछि आफ्नो भावना व्यक्त गर्दै भने, “म भित्रैदेखि खाली महसुस गरिरहेको छु । मेस्सीको विश्वकप यात्रा यसरी टुङ्गियो भन्ने स्वीकार गर्न निकै गाह्रो भइरहेको छ । तर, कम्तीमा उनले आफ्नो करिअरमा जित्नुपर्ने सबै प्रमुख उपाधि जितिसकेका छन्, यसैमा हाम्रो चित्त बुझाइ छ ।” उनका साथी जुआन सेन्जले मेस्सीको बिदाइलाई ‘एउटा युगको अन्त्य’ भनी टिप्पणी गरे ।
उपाधि गुमे पनि अर्जेन्टिनी फुटबल समर्थकहरूले आफ्नो टोलीप्रतिको सम्मान र मायामा कमी आउन दिएका छैनन् । राजधानी ब्युनस आयर्सको प्रसिद्ध ओबेलिस्क चोक र मेस्सीको जन्मस्थान रोजारियोमा हजारौँ समर्थकहरू भेला भई टोलीको हौसला बढाएका छन् । उनीहरूले राष्ट्रिय टोली स्वदेश फर्किएपछि भव्य स्वागत गर्ने प्रतिबद्धता समेत जनाएका छन् । ६२ वर्षीय सेवानिवृत्त नागरिक एबेल टोरेसले भने, “हाम्रो टोलीले मैदानमा अन्तिम सेकेन्डसम्म लड्यो । कठिन परिस्थितिमा पनि नहार्ने अर्जेन्टिनाको चरित्र टोलीले मैदानमा देखाएको छ, हामीलाई उनीहरूमाथि गर्व छ ।”
यसैबीच, अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत राष्ट्रिय टोलीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले खेलाडीहरूले मैदानमा देखाएको वीरता र अन्तिम क्षणसम्मको सङ्घर्षको उच्च प्रसंशा गर्नुभएको छ ।
विश्वकपको फाइनल यात्रामा लगातार कठिन जित निकाल्दै आएको अर्जेन्टिनाले रणनीति, खेलाडी छनोट र केही रेफ्रीका निर्णयप्रति असन्तुष्टि जनाए पनि समग्रमा टोलीले देखाएको जुझारुपनलाई देशवासीले स्विकारेका छन् । विश्वकप गुमे पनि मेस्सीले अर्जेन्टिनालाई फुटबलको सर्वोच्च शिखरमा पुर्याइसकेको भन्दै उनको योगदान इतिहासमा सधैँ स्वर्ण अक्षरले लेखिने समर्थकहरूको भनाइ छ ।



उज्यालो खबर

