काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाउन सफल भएको छ ।एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) ले मंगलबार,१४ नोभेम्बर २०२३ दक्षिण कोरियाको सियोलमा आयोजित एक विशेष कार्यक्रम माझ कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
एसोसिओका अध्यक्ष ब्रेन सेनले उक्त अवार्ड वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई हस्तान्तरण गरेका थिए ।कर्णाली लगायत देशका विभिन्न दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्याउन महत्वपूर्ण पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्याएको भन्दै यो अवार्डले सम्मानित गरिएको कम्पनीले जनाएको छ ।
एसोसिओमा न्यूजिल्यान्ड, जापान, अस्ट्रेलिया, भारत, सिङ्गापुर, चीन नेपाल लगायतका विभिन्न २४ देशका सूचना प्रविधि क्षेत्रका संघसंस्था सदस्यको रूपमा रहेका छन् । यो अवार्ड हरेक वर्ष प्रत्येक सदस्य मुलुकको सेवा प्रदायकहरुलाई प्रदान गरिंदै आएको छ ।
वर्ल्डलिङ्कले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्डबाट सम्मानित भइसकेको छ ।सन् १९९५ तिर नेपालमा भर्खर भर्खर इन्टरनेट सुरु भएको बेला ‘डिजिटल डिभाइड’ अर्थात् डिजिटल विभेदलाई कम गर्ने स्पष्ट उद्देश्यका साथ वर्ल्डलिङ्क बजारमा आएको थियो ।
शैक्षिक संस्था, व्यवसाय र सर्वसाधारणका लागि कनेक्टिभिटीको टुल उपलब्ध गराउँदै आएको कम्पनीले हाल इन्टरनेटको पहुँचबाट बञ्चित अति विकट तथा दुर्गम क्षेत्रमा समेत आफ्नो सेवा पुर्याएको छ ।



उज्यालो खबर




