
चितवन। फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले डस्टरको तेस्रो जेनेरेशन मोडल नोभेम्बर २९ मा पोर्चुगलमा अनभिल गर्ने भएको छ । कतिपय युरोपियन देशमा रेनोको सबब्राण्ड डासियाको ब्याजमा बिक्री हुने डस्टर पोर्चुगलमा पनि डासियाकै ब्राण्ड नेममा लन्च हुन लागेको हो ।
संचार माध्यममा लिक भएका स्पाई सटहरूका आधारमा नयाँ डस्टर पनि अफरोडको लागि उपयुक्त हुने पुरानै जस्तो बक्सी डिजाइनमा रहेको छ । नयाँ डस्टर रेनोनिसानले विकास गरेका सीएमएफ बी मोडुलर प्ल्याटफर्ममा बन्ने निश्चित भइसकेको छ ।
यसको इन्टेरियरमा स्मार्टफोन कम्प्याटीबिलिटी भएको ठूलो साइजको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, डुअल जोन एसी, प्यानारोमिक सनरुफ आदि जस्ता फिचर रहने छ ।
नयाँ डस्टरमा तीन थरिको इन्जिन अप्सन रहने पुष्टी भइसकेको छ । तर, यी सबै इन्जिन भने पेट्रोल मात्र रहने छ । कम्पनीका अनुसार इन्ट्री लेबलमा १२० हर्सपावर दिने १.० लिटरको टर्बो पेट्रोल इन्जिन, १४० हर्सपावरको १.२ लिटरको हाइब्रीड पेट्रोल तथा १७० हर्सपावरको १.३ लिटरको टर्बो पेट्रोल इन्जिन रहने छ । तेस्रो इन्जिन अहिलेसम्म डस्टरमा प्रयोग भएको सबैभन्दा पावरफुल इन्जिन हुनेछ ।
भारतीय बजारमा सन् २०२५ सम्म लन्च भइसक्ने अनुमान गरिएको डस्टर ५ सिटे र ७ सिटे दुवै अप्सनमा उपलब्ध हुनेछ । सात सिटे अप्सनको डस्टरलाई बिगस्टर नाममा लन्च गरिने अनुमान गरिएको छ ।