
काठमाडौं । जापानलाई मुकाम बनाएर व्यवसायमा संलग्न महेशकुमार श्रेष्ठ गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको आकांक्षी हुन् ।दुई दशकयता गैरआवासीय संगठनमा फरक–फरक तहमा रहेर काम गरिसकेका छन् । उनी भन्छन्, “अब नेतृत्वदायी भूमिकामा रहेर संस्थालाई थप व्यापक, विवादरहित र विश्वासयोग्य बनाउनेछु ।”
सन् २००३ देखि एनआरएनएसँग आबद्ध उनी जापानबाट राष्ट्रिय समन्वय परिषदको संस्थापक, संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषध्यक्ष हुँदै उपध्याक्षको जिम्मेवारीमा छन् ।
गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनमा उम्मेदवारीसँगै उनको नारा छ, ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ । बाग्लुङमा जन्मेका श्रेष्ठ उनी कर्मथलो खोज्दै जापान पुगेका थिए । जापान कर्मभूमि बनाउँदै व्यवसायमा संलग्न छन् ।
उनी खासगरी रेमिटेन्स, सूचना प्रविधि, पर्यटन, वित्तीय क्षेत्रमा उनले गरेका काम र लगानी उल्लेख्य छन् । पछिल्लो समय उनी कृषिकर्ममा जोडिएका छन् । विदेशमा सिकेका र अनुभव गरेका कृषि प्रणालीलाई नेपालमा पनि अभ्यास गर्ने योजनामा छन् ।
विद्यार्थी कालमै राजनीतिमा जोडिएका उनी कसरी विदेश पुगे ? कसरी व्यवसायिक यात्रामा जोडिए ? अनि कसरी विश्वभरका नेपालीमाझ आफ्नो फराकिलो चिनारी बनाए ? गैरआवासीय नेपाली मात्र होइन, श्रम गन्तव्य पहिल्याउँदै विश्वभर पुगेका नेपालीहरुको हक–हितका लागि पनि केही गर्नुपर्छ भन्ने स्पष्ट योजनासहित श्रेष्ठ अघि बढेका छन् ।
विदेशमा नेपालीले गरेको आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई स्वदेशको हित र उन्नतीमा कसरी लगानी गर्ने भन्ने उनी कार्ययोजनालाई मूर्त रुप दिन खोज्दैछन् । उनको जन्मथलो बाग्लुङ भए पनि बुबाको जागिरको सिलसिलामा उनी पर्वत पुगे । उनको बाल्यकाल त्यही बित्यो । त्यही पढे, हुर्के र एलएलसी दिए ।
एसएलसीपछि पोखराको पश्चिमाञ्चल क्याम्पसबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरे । क्याम्पस जीवनमै उनी राजनीतिमा प्रवेश गरे, त्यहाँ नेपाल विद्यार्थी संघको अध्यक्षसमेत बने ।
पोखरापछि उनी काठमाडौं आए । काठमाडौं नगरपालिकाले जागिरका लागि आवेदन खुलाएको थियो । उनी त्यसमा प्रतिष्पर्धा गरे छनोट भए । त्यसबेला काठमाडौं नगरपालिकाका मेयर पिएल सिंह थिए ।
त्यहाँ श्रेष्ठले दुई वर्ष काम गरे । अनि पढाईलाई जारी राख्न जापान गए । यो तीस बर्षअघिको कुरा हो । जापानमा उनले मानवशास्त्रमा स्नातकोत्तर गरे । पढाईका साथसाथै उनले रेष्टुरेन्ट व्यवसायमा हात हाले ।
त्यसबेला जापानमा नेपाली रेष्टुरेन्ट यतिखेर जस्तो थिएन ।
इन्डियन रेष्टुरेन्ट भर्खर भर्खर सुरु भएको थियो । नेपाली मेनु पस्कने रेष्टुरेन्टबाट राम्रै फलिफाप भयो । उनले ‘संगम’ नामको रेष्टुरेन्टलाई विस्तार गर्दै सात वटासम्म पु¥याए ।
रेमिट्यान्स भित्र्याउने पहल
जापानबाट नेपालमा पैसा पठाउन व्यवस्थित र वैधानिक बाटो थिएन । सबैले हुन्डीमार्फत् पैसा पठाउँथे । त्यो चाहेर भन्दा पनि बाध्यताले थियो । त्यहाँबाट कसरी वैधानिक माध्यमबाट नेपालमा पैसा पठाउने? यसैको खोजीमा श्रेष्ठले पाँच वर्ष बिताए । वर्षौ वर्ष बैंक धाए । किनभने त्यतिबेला बैंकबाहेक अरुले यस्तो कारोबार गरेको थिएन ।
आखिरमा एक ब्राजिलियन बैंकको सहायतामा उनले यसको वैधानिक बाटो पहिल्याए ।त्यसबेला सिटी एक्सप्रेस भर्खरै खुलेको थियो । सिटी एक्सप्रेसलाई सो बैंकसँग जोडेर बैधानिक बाटोबाट नेपालमा पैसा पठाउने प्रबन्धको दीगो व्यवस्था मिलाए ।
सिटी एक्सप्रेस नेपालमा वैधानिक रेमिटेन्स भित्र्याउनेमा दोस्रो नम्बरमा छ । आइएमई पहिलो छ ।प्रतिशतको हिसाबले आइएमईको हिस्सा ३० प्रतिशत छ, हाम्रो २३ प्रतिशत । तर, तेस्रोको दश प्रतिशत मात्र हिस्सा छ ।सन् २०१० बाट भने सामान्य कम्पनीलाई पनि यसका लागि लाइसेन्स दिन सुरु भयो । त्यसपछि उनी स्वयम्ले लाइसेन्स लिए । अनि रेष्टुरेन्ट व्यवसायमा भन्दा उनी रेमिटेन्स कम्पनीमा बढी केन्द्रित भए ।
न्युजिल्यान्डमा खेती
न्यूजिल्यान्डमा उनका एक साथी थिए, किवी खेतीको विज्ञ । उनै साथीले किवी खेती गर्ने योजना बनाए । त्यो किवी हामीकहाँ भएको भन्दा फरक हुन्छ, जसलाई सन गोल्ड किवी भनिन्छ । किवीका लागि निश्चित हावापानी, जमिनको जरुरी हुन्छ । यस प्रजातिको किवी खेती गर्न प्याटेन्ट राइट लिनुपर्छ, प्रति हेक्टर सात करोड रुपैयाँमा ।
यसमा बिरुवा, प्राविधिक सहयोग उनीहरुले नै दिन्छ । किवी उत्पादन भएपछि खरिद पनि उनीहरुले नै गर्छ । साथीले यस्तै किवी उत्पादन गर्न ठूलो फार्म हाउस सञ्चालन गर्दै थिए, त्यसैमा जोडिए श्रेष्ठ पनि ।न्युजिल्यान्डमा यो खेतीपाती सफल भएपछि जापानमा पनि बिस्तार गर्ने निधो गरे ।
जापानको एउटा गाउँमा बुढापाकाहरु मात्र बसोबास गर्ने रहेछन् । उनीहरु सबै ८० वर्ष भन्दा माथिका । त्यहाँ खेतीपाती गर्न नसक्ने भएपछि तिनले जग्गालाई भूमि बैंकमा राखेका थिए । यसरी फरक फरक किसानले भूमि बैंकमा जम्मा गरेको जग्गा कसैले भाडामा लिएर खेती गर्न सक्छन् । श्रेष्ठले यस्तै जग्गा भाडामा लिए र किवी खेती गरे ।
त्यहाँ १५ हेक्टर जग्गाबाट किवी उत्पादन भइरहेको छ ।
विदेशको सीप र पूँजी, मातृभूमिमा लगानी
विदेशमा उद्यम व्यवसाय गर्दा होस् वा खेतीपाती, धेरै अनुभव, ज्ञान र सीप आर्जन हुने नै भयो ।श्रेष्ठका अनुसार, यसरी आर्जन गरेको अनुभव, ज्ञान र सीपलाई स्वदेशमा पनि अभ्यास गर्न सकिन्छ । उनी नेपालमा पनि यसरी नै वृहत् ढंगले व्यवसायिक खेती गर्नेबारे गृहकार्यमा छन् । खासगरी विदेशकै मोडलमा नेपालको पहाडी भेगमा उन्नत र आधुनिक खेती गर्न उनी निरन्तर पहलमा छन् ।
त्यसो त, उनले यसअघि पनि विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । देशको पर्यटन, जलविद्युतमा, रेमिट्यान्स, वित्तीय संस्था आदिमा उनको खास लगानी छ । पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने कालीगण्डकीको खोंचमा रहेको पुलमा सञ्चालित बन्जी जम्प उनकै प्रयासमा सम्भव भएको हो ।
व्यवसायिक यात्रा
रेष्टुरेन्टबाट सुरु गरेको उनको व्यवसायिक यात्रा रेमिट्यान्स, पर्यटन, जलविद्युत हुँदै कृषिसम्म फैलिएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेड र टेनन कम्पनी लिमिटेड जापानका अध्यक्ष एवं सीईओ हुन् ।किवी उत्पादन र बजारीकरणमा सक्रिय जेएनएन कृषि कम्पनी पनि उनैले हाँकेका छन् । सिटी ट्राभल एन्ड टुर कम्पनी लिमिटेड जापान र सीआई मानव संसाधन कम्पनी लिमिटेड जापानका निर्देशक हुन् ।
जलविद्युतसँगै भौतिक पूर्वाधार निर्माणमा समेत उनको लगानी छ । हिमालयन पावर पार्टनर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलोपमेन्ट लिमिटेड र एनआएन नेपाल विकास कोस लिमिटेडका उनी निर्देशक हुन् ।नेपालमा उनले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिी, सिटी एक्सप्रेस म्यानेजमेन्ट प्रालि, सिटी टेक –आइटी ० प्रालि, सिटी इन्भेष्टमेन्ट फन्ड प्रालि, सिटी एक्सप्रेस सेभिङ एन्ड क्रेडिट को अपरेटिभ लिमिटेडमा साझेदारी गरिरहेका छन् ।
विदेशमा रहेका नेपालीहरुको साझा संस्था एनआरएनए ८७ देशमा विस्तार भइसकेको छ ।विदेशमा बस्ने नेपालीहरुको जे जति भएपनि आफ्नो कमाई छ । उनीहरु सबैको कमाईलाई थोरै थोरै मात्रामा भएपनि संकलन गर्ने संयन्त्र बनाउने उनको लक्ष्य छ ।
यसरी संकलित पूँजीलाई स्वदेशमा लगानी गरिनेछ । यस किसिमको व्यवस्थाले स्वदेशलाई समुन्नत बनाउनमा मात्र सहयोग गर्दैन, विदेशमा हुर्कने दोस्रो पुस्ताका नेपालीले पनि आफ्नो माटोसँग सम्बन्ध कायम राखिरहने मेलो पाउनेछन् ।