×

काठमाडौं – गुल्मी जिल्लाबाट विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका अधिकृत, बौद्धिक व्यक्तित्व तथा नीति निर्माण तहमा कार्यरत व्यक्तिहरूको साझा संस्था “गुल्मेली अफिसर्स सोसाइटी” ले नयाँ नेतृत्व चयन गरेको छ। सोसाइटीको साधारण सभाबाट डा. रामप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

करिब ७०० अधिकृत सदस्य आबद्ध रहेको सोसाइटीले विगतदेखि सामाजिक सेवा, आपसी सहकार्य, बौद्धिक बहस तथा जिल्लाको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। कार्यक्रममा गुल्मी जिल्लाबाट विभिन्न क्षेत्रमा कार्यरत करिब ३ हजार अधिकृत कर्मचारी रहेको तथ्यसमेत प्रस्तुत गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष डा. घिमिरेले निजामती सेवामा आकर्षण बढाउने, सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउने तथा “गुल्मीको पहिचान” लाई राष्ट्रिय स्तरमा स्थापित गर्ने विषयलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्ने बताएका छन्।

साधारण सभाले तीन महत्वपूर्ण उपसमितिसमेत गठन गरेको छ। स्थानीय समन्वय उपसमितिको संयोजकमा झबिन्द्र खनाल, सामाजिक सेवा समन्वय उपसमितिको संयोजकमा योगराज कडेल तथा विकास समन्वय उपसमितिको संयोजकमा टंकप्रसाद पाण्डे चयन भएका छन्।

उक्त कार्यक्रममा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसहित विभिन्न उच्चपदस्थ कर्मचारी, अधिकृत तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले गुल्मेली समुदायबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउन सोसाइटीले प्रभावकारी भूमिका खेल्दै आएको बताएका थिए।

नयाँ नेतृत्वसँगै गुल्मेली अफिसर्स सोसाइटीले जिल्लाको विकास, समाजसेवा र बौद्धिक अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया