काठमाडौं । सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन ३१ असारमा दोहोरो अंकले बढेको नेप्से यो आर्थिक वर्ष लागेपछिको लगातार तीन दिनसहित चौथो दिन पनि बढेको हो ।बुधबार नेप्से ११.१७ अंकले वृद्धि हुँदा २१६५.२५ को विन्दुमा बन्द भएको छ । ३० असारमा २०८४.९३ को विन्दुमा बन्द भएको नेप्से त्यसपछिको चार दिनमा ८०.३२ अंकले बढेको हो ।
बजारलाई लिड गर्ने बैंकिङ क्षेत्रमा नै लगानीकर्ताको आकर्षण कायम रहँदा लगातार चौथो दिन पनि नेप्से बढेको छ ।होटल तथा पर्यटन, हाइड्रोपावर, बीमा, लघुवित्त लगायतका अधिकांश उपसूचकमा गिरावट भएपनि बुधबार बैंकिङ उपसूचकले नेप्से बढाएको हो । बैंकिङ उपसूचक २.३१ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक १.२२ प्रतिशत र उत्पादनमूलक उपसूचक १.१४ प्रतिशतले बढेको छ । यस्तै व्यापार उपसूचक ४.८३ प्रतिशतले वृद्धि भएको हो ।
नेप्से बढ्दै जाँदा लगातार दोस्रो दिन पनि ३ अर्ब माथिको कारोबार भएको छ । सोमबार नेप्सेमा करिब ५० अंकको वृद्धि हुँदा पनि २ अर्ब ५६ करोडमा सीमित भएको कारोबार रकम मंगलबार साढे ३ अर्ब नाघेको थियो । बुधबार नेप्सेमा ५१ हजार ४४५ वटा कारोबारमा ८६ लाख ७४ हजार १०० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ३४ करोड ८७ लाखको कारोबार भएको छ । जसमध्ये युनाइटेड अजोड इन्स्योरेन्सको २३ करोड ५७ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको १४ करोड ७१ लाख रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
बुधबार दिनभर नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ७३ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १३ कम्पनीको सेयरमूल्य स्थिर छ । बुधबार कारोबार भएकामध्ये बीपीडब्लु लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा विशाल बजार कम्पनीको सेयरमूल्य ७.१६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ६.५५ प्रतिशतले वृद्धि भएको हो ।



उज्यालो खबर




