नवलपुर ।  आख्यानकार निर्दोष जीवनको उपन्यास नोस्टाल्जिया बजारमा आएकाे छ ।  बरिस्ठ कवि एवम् साहित्यकार गोविन्दराज विनोदी, एलबी क्षेत्री, नीलम कार्की निहारिका, सिर्जन अविरल र जयराज रेग्मी मगरले पुस्तक विमोचन गरेका हुन् ।

विमोचन गरिएको पुस्तकका सन्दर्भमा आख्यानकार नीलम कार्की निहारिका र सिर्जन अविरलले टिप्पणी राखे । नेपाली समाजमा व्याप्त पितृसत्ताको कालो छायालाई उपन्यासमा गम्भीररूपमा उठाइएको वक्ता अविरलले बताए ।

अर्का वक्ता नीलम कार्की निहारिकाले नोस्टाल्जियामा लेखक निर्दोष जीवनले इमान्दारिता प्रस्तुत गरेको बताइन् । जीवनको आयाम ठूलो छ, लेखक पनि उपन्यास मार्फत बेस्सरी खुलेका छन्, निहारिकाले भनिन् – बसाइँसराइ, मानव बेचबिखन, एचआईभी रोग जस्ता सामाजिक पीडा र भोगाइलाई लेखकले उपन्यासमा सजाएका छन् । नोस्टाल्जिया सरल भाषामा लेखिएको सामाजिक यथार्थवादी उपन्यास भएको निहारिकाले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले उपन्यासमा लेखक निर्दोष जीवनकै संघर्षको कहानी भएको बताए । बाल्यकालमा भोग्नुपरेको नमीठो यथार्थलाई लेखकले नढाँटिकन पुस्तकमा लेखेका छन् क्षेत्रीले भने । लेखक निर्दोष जीवनले पुस्तकको कथाबस्तु आफ्नै परिवारभित्रको भएको बताउँदै पुस्तकमा अधिकांश सत्य घटना तथा थोरै मात्र काल्पनिकता बुनिएको बताए ।

नोस्टाल्जियामा एक जना संघर्षरत युवाको भोगाइ, पारिवारिक साथ सहयोग र मतान्तर तथा प्रेमका विषयलाई समेटेको लेखक निर्दोष जीवनले बताए । ‘तिरस्कारलाई संघर्षले जित्न खोज्नेको कथा यसमा छ’ उपन्यासबारे उनले भने ।चार वटा गीति एल्बम र ४ वटा पुस्तक निकालिसकेका निर्दोष जीवनको नोस्टाल्जिया नवौं कृति हो ।

तपाईको प्रतिक्रिया