×

काठमाण्डौ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपाली साहित्यमा सयभन्दा धेरै कृतिको योगदान गरेका देवकोटाले दश वर्षको उमेरदेखि कविता लेख्न सुरु गर्नुभएको थियो । देवकोटाका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ ।

उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो ।

तपाईको प्रतिक्रिया