– हरिप्रपन्न शर्मा
राम्रो होस् विजया दसैँ सुहृदको आरोग्यदायी बनोस्
विद्यार्थी गुरुवर्गमा समितिमा कल्याणकारी बनोस्
कोरोना नव दुष्ट रावण मरोस् भूभार हल्का बनोस्
आपस्मा मृदुभाव होस् हृदयमा आरामदायी बनोस् १
हारून् शुम्भनिशुम्भ कंसजनले अन्यायका मूर्तिले
राम्रो जीत गरून् पवित्र दिलका सन्न्यायका मूर्तिले
जन्मी गौतम बुद्ध राम जननी सीता सती द्रौपदी
पारून् भष्म असत्यवंश जनको बाँचून् सदा सन्मति ।। २
छौ कोही परदेशमा यदि भने सम्झेर आऊ घर
छौँ बाबा जननी सखा विरहिणी रोईरहेका घर
खेल्दै छन् घर खेत गोठ वनमा टीका लगाई कन
टाढा छौ परदेशमा मन रुँने सम्झेर आफ्ना जन ।। ३
राखेका जमरा सुके मन भयो रुन्चे झरीझैँ तर
आउन्नौ परदेशका जन कुनै सम्झेर आफ्नो घर
रुन्छौ ती परदेशका महलमा रुन्छौँ हजारौं घर
केको चाड मनाउँला नि मनले कालो छ चारैतिर ।।४
साथीको शिर उच्च होस् जगतमा सम्मान कीर्ति बढोस्
सत्विद्या धन वैभवादि घरमा दूर्वा समानै बढोस्
आफ्नो जन्मधरा बुबा र जननी भाषा कला भेषमा
श्रद्धा भक्ति रहोस् प्रसन्न मन होस् आरोग्य होस् गाथमा ।५
हे देवी जति छन् जहान घरमा नातागोता छन् जति
हाँस्तै मस्त रही मनाउन सकून् बिर्सेर पीडा जति
पैसाले मधुमास भक्तजनमा मान्दै रमाए पनि
आमाको मलमास हुन्छ मनमा लाखै कमाए पनि ।। ६
देवीको महती कृपा बनिरहोस् लक्ष्मी घरैमा बसून्
ईर्ष्या द्वेष हटून् सदा हृदयमा वात्सल्य उर्ली रहून्
मान्छेका मुटुमा बसे नयनका नानी समानै बनी
नाङ्गा निर्बलिया मनुष्यहरुको आधार खम्बा बनी ।।७
शिक्षाको नवज्योतिले हृदयको अज्ञान नास्तै गए
चौतारी वटवृक्षका सम बनी सन्ताप हर्दै गए
भोको पेट र नग्न जीर्ण तनका खाना र नाना भए
रोगी अौ असहाय सर्वजनका आधार बन्दै गए ।।८
लामो आयु निरोग काय धन अौ सम्मान मिल्दै रहोस्
सच्चा ज्ञान सुकीर्ति मान धनको आस्वाद मिल्दै रहोस्
हिंसा लोभ कुकर्म दुष्ट जनको सम्बन्ध टाढा रहोस्
सादा जीवन उच्च भाव मनमा आएर बस्तै रहोस । ९
हे साथी शतवर्ष स्वस्थ तनमा बाँचे रमाई कन
पाए ज्ञान अथाह स्नेह जनको आत्मीय मानून् जन
देवीको महती कृपा बनिरहोस् वात्सल्यका साथमा
राम्रा चाह पुरा गरून् जननीले हाम्रो छ यो कामना ।
(शर्मा चितवनकाे भरतपुरमा रहेकाे लक्ष्मी माध्यामिक विद्यालयकाे सहायक प्रधानाध्यापक हुन् )