×

-हरिप्रपन्न शर्मा

कामै छैन तथापि हिँड्छ दिनकै फाल्तू बिकामी छ यो
बाटामा जन या जनावरहरू देख्यो भने भुक्छ यो
पोथ्रा हुन् अथवा दिवाल त्यसमा खुट्टा उचाली कन
तुर्क्याई अनि जान्छ पुच्छर लुते हल्लाइ दौडी कन ।।१

जोगीझैँ घुमिनै रहन्छ पथमा जे भेट्छ खाँदै तर
माग्ने होइन ऊ फकीरसम हो बस्तैन यौटै घर
नाङ्गै हिँड्छ नलाज मान्छ कपडा लाउन्न उस्ले कबै
आफ्नो छैन न गास वास उसको झोले लुते हो सधैँ।।२

यस्को राष्ट्र नधर्म जात गतिलो पेसा र पैसा अनि
पार्टी ,लिङ्ग र वर्ण आश्रमहरू छैनन् नि केही पनि
सन्ध्या काल बसी भुकेर पथमा चिल्लाउने धर्म हो
पल्लो छेउ पुगेर फर्की सुरुमै पुग्ने ठुलो कर्म हो ।।३

फोहोरी स्थल यो रुचाउँछ बढी हड्डी चिथोर्ने छ यो
आफ्नै रक्त चुसेर हड्डी बिचको सम्झन्छ खाना त यो
स्वामी भक्त त हुन्छ यो कुकुर ता स्वामी बिनाको भयो
आफै मालिक रोडको महलको भक्ति रुचाउन्न यो ।। ४

देखे मानिसले नि हान्छ पथमा दौडेर भागी पर
सासै फेर्न भुलेर जान्छ बिचरो आउन्न फर्की घर
फाल्तू यो छ अफाल्तु छन् महलमा बस्ने सदा सुन्दर
भुक्छन् कण्ठ फुलाउँदै पथविषे देखे लुते कुक्कुर ।।५

यल्ले के कसरी कहाँ मनुजको नोक्सान पारी कन
धेरै दुस्ख दियो र खै मनुजले खोज्छन् लखेट्नै किन
कल्ले जन्म दियो यहाँ किन दियो आवास गासै बिना
पायो जन्म कठै धरातलविषे पाउन्न बाँच्नै किन ।।६

यो कालो कुतिया लुते पनि हरे गर्दै विहे हिँड्दछ
पाई बाल जताततै पथपथै छाडेर पो हिँड्दछ
आफ्नो वास कपास गास नहुँदा के काम बच्चाहरू
जन्माई अलपत्र पार्छ पथमा हुन् मूर्ख भुस्याहरू ।। ७

यस्को जात नभात नै छ गतिलो नज्ञान बोली मिठो
ढुक्तै दैनिक हिँड्छ यो घरघरै खोजेर खाना जुठो
कल्ले हो यसरी त्यसै किन दियो छोरी नजानी कन
लाखौंलाख लिएर हिँड्छ पथमा पोथी रमाई कन ।।८।।

कायामा खटिरा भएर मसिना छन् कीट झीँगा बसी
हेरीसक्नु भएन घाउ अझ त्यो पाउन्न रे ओखती
यस्तो हालतमा छ जर्जर लुते पिट्छन् देखे ता नर
आफ्नै जात र भातका कुकुर छन् थर्काइ बस्ने घर ।।९

यौटा मालिक रोडको छ बिचरो अर्को करोडौँ पति
यौटा भुक्त छ हेर्छ रुन्छ घरमा अर्को छ भूँडे अति
खाने मस्त छ गेहमा छ बिचरो भोको छ अर्को तन
यस्तो यो अनमेल सृष्टि नबुझी गर्ने कहाँ छौ भन ।। १०।

राजाको वडिगाड हुन्छ गतिलो सम्मानले कुक्कुर
सीमाको रखवार गर्दछ कुनै खाएर त्यो जागिर
बाटाको रखवार गर्छ कतिता हिँड्दै सदा खुर्खुर
हड्डी मांस मिले चिथोर्छ पथमा सानो लुते कुक्कुर ।। ११

(रचनाकार शर्मा लक्ष्मी माध्यामिक विद्यालय लंकुका सहायक प्रधानाध्याक हुन् )

तपाईको प्रतिक्रिया