काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ विक्री खुला गरेको छ ।कम्पनीले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो । आईपीओ निष्कासनका लागि गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महीनामै असार १३ गते अनुमति पाएको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत शेयर विक्री खुला गरेको हो । हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी रू। १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो . आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू। २ अर्ब १५ करोड पुग्नेछ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्रदान गरेको छ । यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनिआवेदन दिन सकिने व्यवस्था छ । छिटोमा असार २८ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिने यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

 

तपाईको प्रतिक्रिया