×

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज  देखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्दैछ । कम्पनीले रू। २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओ छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीको भनाइ छ ।यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ ।सार्वजनिक निष्कासनमा आस्बा सेवा अनिवार्य रहेकाले अनलाइन मार्फत नै शेयर भर्न सकिने भन्दै निषेधाज्ञाकै बीच कम्पनीले आईपीओ विक्री खुला गरेको हो ।

कोभिड १९ जोखिमलाई ध्यान दिदैं मेरो शेयर मार्फतनै आवेदन दिन सबै लगानीकर्ताहरुलाई नियामक निकायले सुझाब दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञाकाबिच बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गर्ने भएका छन् ।कम्पनीलाई आईपीओ विक्रीको लागि धितोपत्र बोर्डले वैशाख २ गते अनुमति दिएको थियो । विसं २०७४ साल असार २७ गते बोर्डमा आईपीओका लागि निवेदन दिएको कम्पनीले करीब ४ वर्षमा आईपीओ विक्रीको अनुमति पाएको हो ।

तपाईको प्रतिक्रिया