×

– हरिप्रपन्न शर्मा

लौ आयो नव सत्य तथ्य  घटना बोकेर ताजा कुरा
बाटामा शव भेटियो  युवकको चिन्दैन कोही नर
सुन्छन् मानुष  भित्रभित्र मनमा मान्छन् नि धेरै डर
आफ्नै पो सुत हो कि भन्छ मनले बोल्दैन केही तर ।।१

बाटोमा गत रातमा शव थियो विक्षिप्त सारा तन
हिंड्थे त्यै पथबाट किन्तु घिनले हेर्दैनथे ती जन
ताजा त्यो  कसरी भयो खबर रे बासी भएको जन
बेच्छौ झूट र भन्दछौ खबर हो ताजा तिमीले किन ।।२

माखा छन् शवमा छ रक्त मुखमा धेरै  छ कालो तन
डुङ्डुङ्ती  सब गन्ध फैलिन गई चिन्दैन कोही जन
कस्को पुत्र पिता र भाइ पति हो साला भिना देवर
मेरो मानिस हो भनी अझ त्यहाँ  आउन्न खोज्दै नर ।।३

अर्को मानिसको छ हाल बहुतै बेहाल त्यै मार्गमा
केके भन्छ र खान्छ  हिंड्छ पथमा डन्डा लिई हातमा
गाँजा भाङ चरेस खान्छ कपडा छन् नामका देहमा
केके हो  डन हो कि चोर अरु क्यै जानिन्न त्यो गाथमा ।४

धोकेको छ सुरा र गर्छ फतुरा हाक्तै छ दिल्ली अनि
देखे झम्टन जान्छ ग्राम युवती लाजै बिनाको बनी
कौडी छैन न वास नै छ गतिलो  आचार शिक्षा  पनि
खाली यौवन मात्र त्यो पनि सधैं  खेल्ने जुवाडे छ नि ।।५

हाराको कपडा छ नूतन सबै च्याती घुँडामा किन
लाए हो नव पैन्ट यो  कमिजमा खुल्ला छ टाँकै किन
खाने के कसरी कहाँ कुन कुरा काटिन्छ रात्री दिन
के बोल्ने कसरी मनुष्यसित यो  पाउन्न थाहै किन  ।।६

भट्टीमा पथमा छ वास उसको छैनन् कुनै साथमा
हुन्छन् श्वान मुसार्छ खान्छ कुखुरा गाँजा सधैँ मार्गमा
देखेमा जन मात्छ बोल्छ ननिको बौलाउँदै हिँड्दछ
आमाबा घरका जहान सबको  अस्तित्व नै  मेट्त छ ।।७

पार्टीका जनयुद्धमा र अरुमा लागेर  हिंड्ने सधैँ
लड्ने त्यो  जनयुद्धमा अबुझ भै मर्ने त्यही हो सधैँ
बन्दाबन्द गरेर हिँड्छ सब त्यो  व्यापार विद्यालय
जिन्दावाद भनेर हिंड्छ दिनमा रात्री त वेश्यालय ।।८

हुन्नन् क्वै गतिला सहाय अनि त्यो  पाउन्न क्यै जागिर
खाडी जान्छ र गर्छ काम दुखको जल्दो युवा आखिर
पैसाको बदला उ बक्सभरि भै फर्किन्छ आफू घर
बाँकी छन् रिन तिर्न आज उसका सन्तान रुन्छन् घर ।।९

आफ्नो जन्म र धर्म संस्कृति तथा कर्तव्य सारा सब
भाषा भेष र देव देश कुलको आचार बिर्से जब
ताके ती अकुलीन कर्म ननिका सिक्तै र गर्दै चले
तन्नेरी जति सिद्धिए कुपथमा लागेर ती सिल्टिए ।।१०

यस्ताको यति हुन्छ दर्द मनमा देख्तैन कोही जन
यस्ताको कति हुन्छ नग्न तन त्यो हेर्दैन कोही जन
कल्ले देख्छ कहाँ छ गर्छ बिचरो के काम भन्ने जन
पाइन्नन् जब यी युवा किन नहून् विक्षिप्त जस्तै झन ।।११

बेलैमा घरले बुझेनछ भने यस्ता त लाखौँ  युवा
जन्मिन्छन् नरसिंह भै घरघरै विद्ध्वंश होला तब
जस्को बालक बिग्रिए पनि यहाँ  नासिन्छ सारा जन
जस्को बालक सप्रिए पनि यहाँ  सुद्ध्रिन्छ सारा जन ।१२

शर्मा लक्ष्मी मा .वि. लङ्कु चितवनका सहायक प्रधानाध्यापक हुन् । 

तपाईको प्रतिक्रिया