×

काठमाण्डौ – ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढेको छ । ब्राजिलमा कोरोना महामारीपछि पहिलो पटक एकैदिन दुई हजारभन्दा धेरैको सङ्क्रमणका कारण ज्यान गएको छ । बुधवार ब्राजिलमा सङ्क्रमणका कारण दुई हजार दुई सय ८६ जनाको ज्यान गएको बीबीसीमा उल्लेख छ ।

अमेरिकापछि ब्राजिलमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै छ । कोरोनाका कारण ब्राजिलमा अहिलेसम्म दुई लाख ६८ हजार तीन सय ७० पुगेको छ ।

विशेषज्ञका अनुसार कोरोना भाइरसको नयाँ प्रकार भित्रिएसँगै सङ्क्रमण दर बढेको हो ।

बुधवार ब्राजिलका पूर्वराष्ट्रपति लुइज लुला द सिल्भाले वर्तमान राष्ट्रपति जेर बोलसेनारोमाथि कोरोना भाइरसलाई लिएर गरेको निर्णयलाई बेबकुफीको संज्ञा दिनुभएको छ ।

बुधवार राष्ट्रपति बोलसेनारो यस महिनामा पहिलो पटक मास्क लगाएको देखिएको छ । बोलसेनारोले कोरोना भाइरसलाई सामान्य रूपमा आँकलन गर्दै आउनुभएको छ । भर्खरै मात्र उहाँले कोरोनालाई लिएर मानिसहरूलाई अनावश्यक हल्ला गरेको भन्दै आलोचना गर्नुभएको थियो ।

ब्राजिलको प्रमुख सार्वजनिक स्वास्थ्य केन्द्र फियोक्रुजले कोरोना सङ्क्रमण दर बढेका कारण देशका ठूला सहरमा स्वास्थ्य प्रणालीमा निकै दबाब परिरहेको बताएको छ । केही सहरको अवस्था कठिन अवस्थामा पुगेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया