– ताराप्रसाद फुल्लेल
घरि लुकाइदिन्छन्,
घरि सुकाइदिन्छन्, घरि फुलाइदिन्छन्,
घरि कोखाई कोखाई गरी भुलाइदिन्छन्,
तिमीमा आँट पक्कै छ,
समय चिन्न सक्छौ,
विषयवस्तुको धैर्यता छ,
मोलमोलाई गर्ने जमातलाई पहिचान गर्न सक्छौ,
कहिले तिमीमाथि अन्याय गर्छन्,
तिम्रो सौन्दर्यताको तारिफ गर्न नसकेर,
तिमी हिँड्ने बाटो साँगुरो बनाउँछन्,
कहिले बंग्याउन खोज्छन्,
कहिले नंग्याउन खोज्छन्,
तिमीलाई माया गरेर मुटुमा सजाउनेहरूलाई,
ठेस पुर्याउन खोज्छन्,
कहिले खेलमैदानबाट आउट गर्छन्,
कहिले नकाब लगाएर हतियार देखाउँछन्,
तर्स्याउँछन्, धम्क्याउँछन्,
हिम्मत नहार्नु है निफ्रा,
तिमीले भर्खर–भर्खर वामे सर्नेहरूलाई डोर्याउनु छ,
हिम्मत दिलाउनु छ,
बाटो देखाउनु छ, इतिहास लेखाउनु छ,
खबरदार ।।।।
यिनको अस्मितामा खेल्नेहरूलाई,
बाटो छेऊमा लगेर पेल्नेहरूलाई,
सक्छौ मोलमोलाइ गर,
माया गर या हेँला गर,
यो तिम्रो अधिकार हो, तर।।।
कानुन नमिच, मुटुमा नथिच,
सिस्टममा नखेल,
बन्द गर अब तिम्रा अन्यायपूर्ण जालझेल,
नपारी कसैलाई ओझेल !!
(कवि सेयर लगानीकर्ता संघका उपाध्यक्ष हुन् )