×

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवारसम्म बाँडफाँट गर्ने तयारी भएको छ ।विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले बुधवार प्रि- अलोटमेण्ट गरी शुक्रवारसम्म बाँडफाँट गर्ने गरी तयारी भइरहेको बताएको छ । हाल डाटा भेरिफिकेसनको काम भइरहेकाले बुधवार बेलुकासम्म प्रि-अलोटमेण्ट गर्न सके शुक्रवार बाँडफाँट हुने विक्री प्रबन्धकको भनाइ छ ।

उक्त कम्पनीको आईपीओमा १५ लाख ८० हजार ७८१ जनाले आवेदन दिएका छन् । अन्तिम दिन फागुन ५ गते बुधवार साँझ ५ बजेसम्म ती आवेदकबाट २ करोड ४६ लाख ६६ हजार १७० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा ६५ दशमलव ७७ गुणा बढी हुन आउँछ ।

कम्पनीको आईपीओका लागि परेको आवेदन हालसम्मकै उच्च रहेको छ । यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजारभन्दा बढीको आवेदन परेको थियो ।

कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । प्रतिकित्ता रू। १०० अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखिएको छ ।

यो आईपीओमा आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था थियो । हाल कम्पनीको चुक्तापूँजी रू। ६ करोड रहेको छ ।
आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू। १० करोड पुग्नेछ । आर्थिक वर्ष २०७६र ७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू। ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू। ३१३ दशमलव १६ रहेको छ ।

तपाईको प्रतिक्रिया