काठमाण्डौ – काठमाण्डौको असन अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक पुजारीमा महिला नियुक्त भएका छन् ।
मन्दिरको पुजारीमा सहनशीला शर्मा झा नियुक्त हुनु भएको हो । पहिलो पटक पुजारीमा नियुक्त भएपछि उहाँले यो पदमा नियुक्त हुँदा आफूलाई गर्व लागेको बताउनु भएको छ ।
उहाँले लेख्नु भएको छ ‘कुनै पनि महिलालाई पुजारी नियुक्ति गर्ने नियम गुठी संस्थानमा रहेन छ तर मैले उहाँहरुलाई किन हुँदैन त भन्ने प्रश्न राख्दा महिलालाई पुजारी बनाउन मिल्दैन भन्ने जवाफ पाए । तर, पनि प्रयास गरिरहे र आज नियुक्ति पत्र पाए ।’
उहाँले पुर्खाले गर्दै आएको पूजाआजा परम्परामा सधैं छोरालाई मात्र अधिकार दिनेमा अहिले आफूले यो परम्परालाई समेत तोड्न सकेको बताउनु भएको छ ।
‘मेरो पुर्खा पक्कै पनि खुशी छन् होला’ उहाँले भन्नु भएको छ । गुठी संस्थान काठमाण्डौ शाखाले हिजो काठमाण्डौको असन अन्नपूर्ण नारायण मन्दिरमा सहनशीला शर्मा झालाई नियुक्त गरेको हो ।
शर्मालाई १ वर्षको परीक्षणकाल हुनेगरी बढीमा ५ वर्षको लागि पुजारीमा नियुक्त गरेको संस्थानले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।