Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन, १४ मंसिर । दीपकज्योति अभिबृद्धि बचत तथा ऋण सहकारी संस्था लिको १६ औं वार्षिक साधारण सभा आज (आईतबार) बाट शुरु भएको छ । सहकारीको मुख्य कार्यालय र सेवाकेन्द्रहरुमा मंसिर २६ गतेसम्म चरणबद्ध रुपमा साधारणसभा एवं सेवाकेन्द्र भेला गरी मंसिर २७ गते समापन गरिंदैछ ।

कोरोना संक्रमणका कारण उच्च सावधानी अपनाउँदै संस्थाले साधारणसभाको प्रक्रिया अघि बढाएको हो । सभाको शुभारम्भ गर्दै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक एवं दीपज्योतिका सल्लाहकार संयोजक तेजेन्द्रबहादुर खड्काले यस संस्थाले अन्य संघ संस्थासँग समेत एकीकरण गर्दै जिल्लामा नमूना सहकारीका रुपमा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो “सबै संघ संस्थाहरुले आफूहरुसँग मिल्दाजुल्दा सहकारीहरु एकीकरण गरेर सक्षम सहकारी बनाउनेतर्फ लाग्नुपर्छ ।”

कार्यक्रममा संस्थाका अध्यक्ष भोला शिवाकोटीले दीपज्योतिले बि.सं. २०७५ मा गौरवमय साकोस र २०७६ मा अभिबृद्धि साकोससँग एकीकरण गरेको भन्दै अन्य सहकारीहरुसँग समेत एकीकरणको प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । कोरोना संक्रमणका कारण सबैलाई एकै ठाउँमा भेला गरेर साधारणसभा गर्न नसकेपनि चरणबद्ध रुपमा अधिकतम सदस्यलाई पायक पर्ने गरी साधारणसभा शुरु गरिएको बताउनुभयो ।

सो अवसरमा यस संस्थासँग गत वर्ष एकीकरण भएको अभिबृद्धि साकोसका संस्थापक एवं संरक्षक डा. टीकानिधि ढकाल, संस्थाका उपाध्यक्ष तुल्सीराम आचार्य, सचिव नारायणप्रसाद उपाध्याय, शेयर सदस्य भगवती घिमिरे, यदुनाथ भट्टराईलगायतले बोल्नु भएको थियो ।

संस्थाका कार्यकारी प्रबन्धक उमाकान्त पौडेलले हाल संस्थामा ३ हजार ४१३ जना सदस्य रहेको, शेयर रकम पाँच करोड ७० लाख, कूल बचत ४० करोड, लगानी ३५ करोड रहेको जानकारी दिनुभयो । गत वर्ष संस्थाले १ करोड ३६ लाख रुपैयाँ नाफा गरेको सहकारीले चालु आर्थिक वर्षमा १ करोड ९३ लाख नाफा गर्ने लक्ष्य राखेको छ ।

सहकारीले आज अभिबृद्धि सेवा केन्द्रबाट साधारणसभा शुरु गरेको हो । मंसिर १६ गते भानुचोक सम्पर्क कार्यालय टाँडी, १७ गते गौरवमय सेवाकेन्द्र भरतपुर ११, १९ देखि २६ गतेसम्म दीपज्योति भवन मुख्य कार्यालय भरतपुर ११ मा उपस्थित माईन्यूट रहने गरी चरणबद्ध साधारणसभा गर्दै छ । मंसिर २७ गते धावन पार्टी प्यालेस जागृतिचोकमा समापन कार्यक्रम हुने छ ।

भरतपुर ११, वाईपासरोडमा आफ्नै सुविधासम्पन्न भवन भएको जिल्लाको प्रतिष्ठित सहकारी भएकाले यस सहकारीसँग एकीकरणका लागि धेरै सहकारीहरुले ईच्छा जाहेर गरेका छन् ।

तपाईको प्रतिक्रिया