(शार्दूलविक्रीडित)!
============
हो यो उत्सव,आसुरी, प्रकृति वा अन्याय छोड्ने दिन!!
मैत्री प्रेम दया अपार करुणा आनन्द भर्ने दिन!!
साना-माथि दया र मान्य जनको आशीष माग्ने दिन!!
आयो यो विजया दसैँ घर फिरी,आमा म ता आइन!!
देवीले रिपु दैत्यका गणहरू सम्हार गर्ने दिन-
राजा राम कपीश लक्ष्मण मिली लङ्का जितेको दिन!
योगी सिद्ध यतीन्द्रले प्रकृतिको सम्मोह हर्ने दिन!
आयो यो विजया दसैँ घर फिरी आमा म ता आइन!!
नौ दुर्गा भरि भक्ति भाव बटुली पूजा र आजा हुँदा!
कस्तो प्रेम थियोे संगोल घरमा यौटै हुँदाको मजा!!
आमा बा सब दाजुभाइ र बुढी-आमा बुवा नै किन-
संझेँ यो विजया दसैँ घर फिरी आमा म ता आइन!
द्यौराली डिलमा नयाँ पिङहरू थाप्दै हुनन् गाउँमा!
दै-टीका जमरा लगाइ पिङमा खेल्ने थियोे चाहना!!
वर्षौं वर्ष बिते विदेश छु अझै बाकीँ छ साँवा ऋण!
आयो यो विजया दसैँ घर फिरी आमा म ता आइन!!
हाम्रो वैदिक सभ्यता सँग थियो जे शान्ति त्यो नासियो!!
पैले झैँ छ र ? छैन आज घरमा सद्भावना मासियो!
झुट्टा आसुर तत्वको विगविगी बड्दै छ झन् छिन्छिन!
यो जञ्जाल म बुझ्छु तैपनि मुमा सम्झेँ- दसैँ, आइन!!
बाटोमा कसरी हिडौँ सब जगा बाधाहरू व्याप्त छन् !
व्यर्थै कानुन लाग्छ, संक्रमितको शंका गरी हेर्दछन्!!
स्वार्थी त्यो सरकार भन्दछ, मरून् पर्देशिएका जन!
फिर्ती टीकट पाइएन जननी ऐले, म ता आइन!!
ऐलेको विजया दसैँ अलिकता खल्लो हुने भो तर-
कोरोना सँग जिन्दगी मिलिजुली बाचौँ, बनी निर्डर!
सम्झी चाड दशैं म सीमित गरें, आनन्द मानीकन-
यो मेरो शुभकामना छ सबमा,आमा म ता आइन!!