
भोक बहादुर
शिक्षा छैन न वास नै छ
घरमा के भो तँलाई भनी
सोध्ने मानिस छैन आखिर
परे फाल्ने मलामी पनि
नाङ्गो आङ सधैं कुठार
हसिया बोकेर कैले वन
कैले खेत गरी उ हिँड्छ
अरुकै सस्तो लुरे जीवन ।।१।।
मान्छे छैन, न औषधि छ
तन यो हुँदा विरामी कतै
हुन्नन् डाक्टर वैद्य क्वै
फुकिदिने नाडी समाई अझै
सित्तैमा उपचार नै गरिदिऊँ
भन्दैन कोही कसै
पैसाले कसरी लग्यो मनुजता
मान्छे बेकम्मा सधैं ।।२।।
दामै छैन ननाम नै छ जनले
काले र डल्ले भनी
गर्छन् नाम पुकार त्यै
समयमा जाने गरेको छ नि
दिन्छन् जे जसरी उलाइ
जनले खाएर कामैगरी
अर्काको भरमा कडा
नजरमा फ्याँकेेर यो जिन्दगी ।।३।।
गाला कन्दरमा ललाट भरमा
गाँठा परेका ठुला
आँखा झन् अझ भित्र भित्र
उसका ठेला मुठीमा ठुला
अर्काको घरको निबेक
दिनहूँ ल्याएर आई घर
पत्नीको शिशुको मुहार
रसिला पार्दिन्छ उस्ले तर ।।४।।
आउन्नन् उसका कुनै दिन
विदा आउन्न चाडै पनि
आउन्नन् उसलाइ
पर्वहरूमा आरामका छिन् पनि
झन्डा छन् अनगिन्ति , छन्
दलहरू , छन् वाद धेरै तर
पत्तै छैन सबै समान बिचरो
घोटिन्छ बारीतिर ।।५।।
झन्डा ली दलका ठुलो
समुहमा निस्कन्छ मान्छे पथ
त्यो बेला उसले विचित्र मनले
झन्डा र आफ्नो कथा
सोच्तै जोत्त छ अर्धनग्न तन
ली राखेर जुत्ता उता
जाती छैन नधर्म नै छ
उसको खै राष्ट्र राष्ट्रियता ।।६।।
– हरिप्रपन्न शर्मा
साहायक प्र .अ . लक्ष्मी माध्यमिक विद्यालय