चितवन । नारायणगढ मुग्लिन सडकखण्ड विस्तार गरिए पनि पहिरोको जोखिम र जीर्ण पुलको समस्या समाधान हुन सकेकाे छैन । काठमाण्डौ, पोखरा लगायतका मुख्य सहरलाई तराईसँग जोड्ने नारायणगढ– मुग्लिन सडकखण्डको दुःख नहट्दा सर्वसाधरणले बेलाबखत हैरानी खेप्नु परेकाे छ ।
सन् २०१५ बाट सडक विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको दुई लेन सडक बनाइएको छ । सडक दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा भने पहिरो जान राेकिएकाे छैन ।पहिरोको जोखिम क्षेत्र रहेको तुइन खोला, ४ किलो, १७ किलो, २६ किलो, २७ किलो, घुमाउने, टोपे खोला, भालु ढुंगामा लगायत २० स्थानमा पहिरो नियन्त्रणको काम भएको छ ।
सडक विस्तारसँगै विभिन्न चरणमा गरेर पहिरो नियन्त्रणका काम भए पनि चार किलो लगायत मुग्लिन देखि जलबिरे सम्मको भागमा भने पहिरोले दुःख दिदै आएको छ ।नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनाल पहिरो नियन्त्रणको काम गरिए पनि भौगोलिक बनावटका कारणले पहिरोको समस्या पूर्ण समाधान हुन नसकेको बताउनुहुन्छ ।