चितवन – रसुवामा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडितहरूको सहयोगार्थ भरतपुर-२, क्षेत्रपुरस्थित फोर्ब्स कलेजले एक बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
“For Humanity, For Rasuwa” (मानवीयताका लागि, रसुवाका लागि) भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा विद्यार्थी, शिक्षक, कलेजका कर्मचारीका साथै स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकका अनुसार उक्त कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गरेका छन्।
विपद्का समयमा घाइते तथा बिरामीहरूको उपचारमा रगतको अभाव हुन नदिन र मानवीय सेवाको भावनालाई अभिवृद्धि गर्न यो कार्यक्रम आयोजना गरिएको कलेज प्रशासनले जनाएको छ। कार्यक्रममा सहभागी रक्तदाताहरूले विपद्मा परेका नागरिकको जीवन रक्षामा आफ्नो सानो प्रयासले पनि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
कलेजले रक्तदानलाई केवल एक सामाजिक सेवा मात्र नभई संकटको समयमा एकअर्काप्रति ऐक्यबद्धता र मानवीय संवेदना प्रस्तुत गर्ने सशक्त माध्यमका रूपमा लिएको छ। रसुवाका बाढीपहिरो प्रभावित परिवारप्रति गहिरो ऐक्यबद्धता जनाउँदै यस कार्यक्रमले समाजमा “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने सकारात्मक सन्देशसमेत प्रवाह गरेको छ।
आगामी दिनहरूमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता विभिन्न सेवामूलक तथा मानवीय कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता फोर्ब्स कलेजले जनाएको छ।



उज्यालो खबर

